Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
19.1 C
Kathmandu

तराई–मधेसको पानी समस्या बुझ्न आएको भारतीय टोलीको भ्रमण समाप्त

spot_img

काठमाडौं,३० साउन । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ।

शुक्रबार खानेपानी मन्त्रालयमा मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरी फर्किएका भारत सरकारका विज्ञ टोलीसँग महत्वपूर्ण छलफल आयोजना गरिएको थियो।

उक्त टोलीले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको अवस्था तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि तयार पारिरहेको प्रतिवेदनबारे विस्तृत जानकारी गराएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिए।

‘उक्त टोली यहीँ साउन २७ गतेदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी फर्किएको छ। टोलीले प्रतिवेदन तयार गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ, ’ उनले भने।

उक्त विज्ञ टोलीसँग आज पनि मधेश प्रदेशको खानेपानी सङ्कट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएको तथा उक्त छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको रायको आधारमा नेपाल सरकार तथा खानेपानी मन्त्रालयले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले बताएका छन्।

‘खानेपानीको यस सङ्कटको समयमा प्रदान गरिएको सहयोगका लागि भारत सरकारप्रति पनि विशेष आभार सहित विज्ञ टोलीको यस महत्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा तराई–मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने हाम्रो दृढ अपेक्षा रहेको कुरा आफुले भारतीय विज्ञ पक्षसँग पुनः जोड दिएको समेत मन्त्री यादवले जानकारी दिए।

यसैगरी मन्त्री यादवले केही महिना अघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग हस्ताक्षर भएको समझदारीपत्र (एमओयु) को प्रतिफल स्वरूप सम्भव भएको यो सहकार्यले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उनले नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराए।

छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि तथा देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राइले तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर आफुहरुले स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना सहितको प्रतिवेदन तयार गरिरहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once