Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
18.1 C
Kathmandu

घरघरमै धारा पुगेपछि स्थानीयवासी दङ्ग

spot_img

बागलुङ,१७ जेष्ठ । बागलुङको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ। गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो। वर्षौदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय हाल आँगनमै धारामा पानी आउपछि दङ्ग छन्।

भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । यहाँ नेवाको रु १३ लाख ३० हजार एक सय १३, गाउँपालिकाको रु सात लाख सात सय ७७ र जनश्रमदान रु आठ लाख छ हजार तीन सय ७१ गरी कूल रु २८ लाख ३७ हजार दुई सय ६१ मा ५५ धारा निर्माण गरिएका छन्। भल्कोट गाउँमा चार हजार नौ सय १५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी घरघरमा पुर्‍याइएको हो ।

नेवा बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी आउन थालेको छ। यस्तै, बुढाथोकमा नेवाको रु ११ लाख ५५ हजार १५, गाउँपालिकाको रु छ लाख ६४ हजार नौ सय ५५ र जनश्रमदान रु छ लाख ५७ हजार नौ सय आठ गरी कूल रु २४ लाख ७७ हजार आठ सय ७८ मा ३९ धारा निर्माण गरिएको उनले जानकारी दिए ।

यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेको मुहानबाट पाइपमार्फत घरघरमा पानी पुर्‍याएको छ। गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयका मागपछि पालिकासँगको सहकार्यमा धारा निर्माण गरिएको कोइरालाले बताए। घर–घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन्। यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुँदै आएकामा आयोजनाको संरचना जीर्ण भएपछि नियमित आपूर्तिमा समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताइन्। स्थानीयलाई खान, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उनको भनाइ छ ।

अब घरमै धारा बनेपछि समस्या समाधान हुने विश्वाससहित उनले भनिन्, ‘गाउँमा धेरै वर्ष अगाडि बनेका थोरै धारा थिए, ती धाराबाट पानी थाप्न समस्या छ। सानो पानी आउने, धेरैले एकैपटक पानी भर्न खोज्दा लाइनमा बस्नुपर्ने, सरसफाइ गर्न र वस्तुभाउलाई पानी खुवाउनका लागि गाह्रो थियो । अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन कि भन्ने अपेक्षा गरेका छौँ ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सबै नागरिकलाई घर–घरमा स्वच्छ खानेपानीको सुविधा दिने गरी काम गरिएको बताए। अधिकांश गाउँ बस्तीमा ‘एक घर, एक धारा’ निर्माण भएर सञ्चालनमा आएको र बाँकी बस्तीमा पनि गाउँपालिकाले विभिन्न संस्थासँग सहकार्य गरेर पानी पुर्‍याउने काम गरिरहेको उनले जानकारी दिए। एक दशक अगाडिसम्म धेरै गाउँमा सार्वजनिक धारोबाटै पानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once