गुल्मी,०७ जेष्ठ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–६ स्थित कुर्घामा रहेको मालिका मन्दिर हाल धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित बन्दै गएको छ। हालसालै मन्दिरको पुनर्निर्माणपछि यहाँ श्रद्धालु र पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ।
पौराणिक महत्वले भरिएको यो मन्दिर परिसरको चारैतिर देखिने मनोरम दृश्यले पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। मालिका मन्दिरमा वर माग्दा ठूलो स्वरमा चिच्याएर माग्नु पर्ने चलन छ। विशेष पर्वहरूको अवसरमा यहाँ श्रद्धालुहरूको ठूलो भिड लाग्ने गर्दछ। दर्शन र पूजाआजाका लागि गुल्मी मात्र नभई अर्घाखाँची, बागलुङ, प्युठान, बुटवल, काठमाडौं लगायत विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेका छन्। यहाँ वर माग्दा र भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। भाकल गरेपछि परेवा उडाउने र बली चढाउने परम्परा समेत रहेको छ।
मन्दिरको नजिकै रहेको ठूलो चट्टानबाट निस्कने पानीको स्रोत यहाँ आउनेहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको छ। सानो जलकुण्डमा रंगीबिरंगी माछाहरू तैरिएको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ। बैकुण्ठ चतुर्दशी तथा कार्तिक शुक्ल चतुर्दशीका अवसरमा मालिका मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गरेको स्थानीय ज्ञानहरी सापकोटाले जानकारी दिए।
मालिका क्षेत्र किम्मु, बर, र सिमलका रुखले भरिएको छ, जहाँ माल्याश्री नामक ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती प्रचलित छ। यो क्षेत्र वनजङ्गलले ढाकिएको हुनाले यहाँ जङ्गली जनावर र चराचुरुङ्गीहरूको बासस्थान रहेको छ। पौराणिक कथन अनुसार, पानीको अभाव भएको बेला ऋषि माल्याश्रीले देवी मालिकालाई पुकार गरेपछि, देवी प्रसन्न भई मन्दिर परिसरमै जलकुण्ड सृजना गरेर जीवजन्तुको रक्षाका लागि पानीको व्यवस्था गरेकी थिइन्। चट्टानको बीचमा रहेको सानो जलकुण्ड आज पनि श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको छ। यहाँ साउन र माघ महिनामा बली चढाउने परम्परा हुँदैन।
मन्दिर नजिकै स्वाँरा क्षेत्रमा स्थानीयहरूले होमस्टे सेवा सञ्चालन गरेका छन्। दर्शन गरेर फर्किने श्रद्धालुहरूले त्यहीँ बास बस्नुका साथै स्थानीय उत्पादन र परिकारको स्वाद समेत लिने गरेका छन्। मुसिकोट नगरपालिकाले मालिका क्षेत्रको विकासका लागि सडक, खानेपानी, मन्दिर पुनर्निर्माण तथा व्यवस्थापनमा सहयोग पुर्याउँदै आएको नगरप्रमुख जीवलाल खरेलले जानकारी दिएका छन्।





