Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
20.1 C
Kathmandu

बुद्धका शिक्षाको अभ्यासले मानव कल्याण सम्भव

spot_img

काठमाडौं,२९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा आत्मसात् गर्दा मानव जातिको कल्याण हुने उल्लेख गरेका छन्।

२,६६९औं बुद्ध जयन्तीको अवसरमा स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्ध सभामा प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालको समय स्मरण गर्दै लुम्बिनीमा ध्यान केन्द्रको अभाव देखेर आठ हजार जनाको क्षमता भएको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरिएको जानकारी दिए। उनले लुम्बिनी गुरुयोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि प्रस्ट पारे।

प्रधानमन्त्री ओलीले बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण आजकै तिथिमा भएको स्मरण गर्दै यो दिनलाई विशेष र ऐतिहासिक बताए। उनले भने, “बुद्धका शिक्षाहरू सरल र स्पष्ट छन्। विश्वमा शान्ति स्थापनाको लागि हामीले बुद्धका शिक्षा– शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, र असल व्यवहारप्रति केन्द्रित हुन आवश्यक छ।”

उनका अनुसार बुद्धका महायान, थेरवाद र वज्रयान परम्पराहरूमा ज्ञानको व्याख्यामा केही भिन्नता भए पनि मूल उपदेशहरू सबैमा समान छन्। बुद्धका ज्ञानहरू त्रिपिटक— विनयपिटक, सूत्रपिटक र धम्मपिटकमा संकलित छन्, जसका भोजपत्रका ठेलीहरू हाल पनि पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित अवस्थामा सुरक्षित छन्। प्रधानमन्त्री ओलीले लुम्बिनीको संरक्षण र बुद्धका शिक्षाको प्रचार–प्रसारमा निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोल, नेपालस्थित म्यान्मारका राजदूत र भारतीय दूतावासका प्रतिनिधिहरूले पनि बुद्ध जयन्तीको शुभकामना व्यक्त गरेका थिए। यसअघि प्रधानमन्त्री ओली लुम्बिनीमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भई काठमाडौं फर्किएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once