प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३ : हस्तलेखन प्रतियोगितामा २६ विद्यालयका १८४ विद्यार्थी सहभागी

spot_img

वीरगंज,१४ कार्तिक । विद्यार्थीहरूमा अन्तर्निहित सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा लेखन सीपको विकास गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले आयोजना गरेको ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गतको हस्तलेखन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

‘जहाँ रङहरू भेटिन्छन् सुन्दर अक्षरहरूसँग’ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा पर्साका २६ विद्यालयका १८४ जना विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतियोगितामा गौतम मावि, रोयल एकाडेमी, साउथ जोन मावि, एसआर ग्यालेक्सी, नवदीप एकाडेमीलगायत विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो लेखन सीप र प्रतिभा प्रस्तुत गरेका थिए।

प्याब्सन पर्साका सचिव अशोक संग्रौलाका अनुसार विद्यार्थीहरूको कक्षागत स्तर, क्षमता र सिकाइको अवस्थालाई ध्यानमा राख्दै प्रतियोगितालाई चार समूहमा विभाजन गरिएको थियो। जसअनुसार कक्षा १ देखि ३, कक्षा ४ देखि ५, कक्षा ६ देखि ८ तथा कक्षा ९ देखि १० सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा राखेर प्रतिस्पर्धा गराइएको थियो। यसले विद्यार्थीहरूलाई आफ्नो उमेर र कक्षागत स्तरअनुसार प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रत्येक समूहबाट प्रथमदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने आयोजकले जानकारी दिएको छ। विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभालाई विभिन्न विधामार्फत उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत आइतबार चित्रकला प्रतियोगितासमेत आयोजना गरिने प्याब्सन महानगरका सचिव अमित आलोकले जानकारी दिए। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले निजी विद्यालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान, प्रस्फुटन र विकासलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको बताए। विद्यार्थीभित्र रहेका विभिन्न क्षमता र सम्भावनालाई बाहिर ल्याउन यस्ता सिर्जनात्मक कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ थियो।

उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै समाजमा छुट्टै पहिचान स्थापित गर्न र जीवनमा आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। शिक्षालाई केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नराखी व्यवहारिक तथा सिर्जनात्मक गतिविधिसँग जोड्नुपर्नेमा पनि उनले जोड दिए।

त्यसैगरी, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कल्पनाशक्ति, सिर्जनशीलता तथा कलात्मक क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको बताए। उनका अनुसार चित्रकलाले विद्यार्थीहरूको कल्पनाशक्ति र रचनात्मक सोचको विकासमा सहयोग पुर्‍याउँछ भने हस्तलेखन प्रतियोगिताले अक्षरलाई स्पष्ट, आकर्षक र व्यवस्थित रूपमा लेख्ने बानीको विकास गर्न प्रोत्साहित गर्छ। विद्यार्थीहरूको व्यक्तित्व विकासमा सिर्जनात्मक गतिविधिको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले उनीहरूमा नयाँ कुरा सिक्ने रुचि र आफ्नो क्षमता पहिचान गर्ने अवसरसमेत सिर्जना गर्ने बताए।

शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले प्याब्सनले यस्ता रचनात्मक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको आयोजकले जनाएको छ। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, स्वस्थ प्रतिस्पर्धाको भावना, सिर्जनशीलता र आफ्नो प्रतिभा सार्वजनिक रूपमा प्रस्तुत गर्ने क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रोयल एकाडेमी स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष शर्मानन्द कुशवाहा, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, रोयल एकाडेमीकी प्रिन्सिपल विजया ओझैया, विजय मल्ललगायत विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

प्याब्सनले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिसँगै आफ्नो सिर्जनात्मक र कलात्मक क्षमता पहिचान तथा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once