वीरगंज,१४ कार्तिक । बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि शनिबार क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ । अस्पताल उद्घाटनको विरोधमा रहेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय बालक आदित्य पासवान गम्भीर घाइते भएका छन् ।
घटनापछि फेटा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । गोली लागेर घाइते भएका पासवानको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घाइते बालकको शरीरबाट गोली निकालिएको छ । उनको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जानकारी दिएका छन् । झडपपछि आक्रोशित स्थानीयले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेका छन् । स्थानीयले प्रहरीको एउटा मोटरसाइकलसहित १० वटा मोटरसाइकलमा आगो लगाएका छन् । घटनामा शिक्षक लालबाबु साहसहित केही स्थानीय र प्रहरीसमेत घाइते भएका छन् ।
सुरक्षाकर्मीको बाक्लो परिचालनपछि अस्पताल आसपासको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन् । यद्यपि, अस्पताल उद्घाटनको विषयबाट सुरु भएको विवाद गोलीकाण्ड र आगजनीसम्म पुगेपछि प्रशासनले स्थिति थप बिग्रन नदिन दुवै पक्षसँग संवाद र समन्वयको प्रयास गरिरहेको छ ।
काम सम्पन्न नहुँदै उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयको विरोध
फेटा गाउँपालिकामा निर्माण सम्पन्न भएको भनिएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर केही दिनअघिदेखि नै विवाद उत्पन्न भएको थियो । तत्कालीन विवेकशील साझा पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले शनिबार दिउँसो १ बजे अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरेका थिए । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छन् । अस्पताल उद्घाटनका लागि रास्वपा सांसद तथा तत्कालीन विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा आउने कार्यक्रमसमेत तय गरिएको थियो । तर, अस्पताल निर्माण तथा व्यवस्थापनका आवश्यक काम पूरा नभएको भन्दै स्थानीयले उद्घाटन कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल पाल, वडा नम्बर ३ का पूर्ववडाध्यक्ष उपेन्द्र साह, शिक्षक लालबाबु साहलगायत स्थानीयले अस्पतालको काम पूरा नभई उद्घाटन गर्न खोजिएको भन्दै कार्यक्रम रोक्न माग गरेका थिए । स्थानीयका अनुसार अस्पतालमा विद्युत् जडान, फर्निचर व्यवस्थापनलगायतका आधारभूत काम अझै बाँकी थिए । अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार र व्यवस्थापन पूरा गरेपछि मात्रै उद्घाटन गर्नुपर्ने उनीहरूको अडान थियो । यस विषयमा स्थानीयले स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराएका थिए ।
तर, विवाद समाधान हुन नसक्दै सांसद बास्कोटा उद्घाटन कार्यक्रममा सहभागी हुन बारा पुगेकी थिइन् । सम्भावित झडप र अप्रिय घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले गाउँपालिका अध्यक्ष अंसारीलाई कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो । तर, अध्यक्ष अंसारीले कार्यक्रम पछाडि सार्न नमानेपछि दुवै पक्षबीचको असमझदारी थप बढ्दै गएको थियो ।
बिहानैदेखि प्रदर्शन, टेन्ट र शिलालेखमा तोडफोड
अस्पताल उद्घाटनको विरोधमा रहेका स्थानीयले शनिबार बिहान ९ बजेदेखि नै प्रदर्शन सुरु गरेका थिए । उनीहरूले अस्पताल परिसरमा उद्घाटनका लागि निर्माण गरिएको टेन्ट तथा शिलालेख भत्काएका थिए । अस्पताल सञ्चालनका लागि आवश्यक काम पूरा नभएको अवस्थामा उद्घाटन गर्नु उचित नहुने भन्दै स्थानीयले कार्यक्रम रोक्न दबाब दिएका थिए । अर्कोतर्फ, निर्धारित समयमै उद्घाटन कार्यक्रम सञ्चालन गर्ने तयारी भएपछि अस्पताल परिसरमा तनाव बढ्दै गएको थियो । विवाद चर्किंदै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले विरोधमा उत्रिएका पूर्वगाउँपालिका अध्यक्ष अमिरीलाल पाल र पूर्ववडाध्यक्ष उपेन्द्र साहलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । यही क्रममा प्रहरी र स्थानीयबीच झडप सुरु भएको थियो ।
झडपमा ढुङ्गामुढा, प्रहरीको गोली लागेर बालक घाइते
प्रहरीले पूर्वजनप्रतिनिधिलाई नियन्त्रणमा लिन खोजेपछि स्थानीय र प्रहरीबीच तनाव बढ्दै झडपमा परिणत भएको थियो । झडपका क्रममा स्थानीयले प्रहरी तथा नवनिर्मित अस्पताल भवनलाई लक्षित गरी ढुङ्गामुढा गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका हुन् । बालकलाई गोली लागेपछि घटनास्थलमा थप तनाव उत्पन्न भएको थियो । आक्रोशित स्थानीयले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेका थिए । घटनापछि अस्पताल परिसरमा रहेका सुरक्षाकर्मी, कर्मचारी तथा केही सञ्चारकर्मीसमेत केही समय तनावपूर्ण अवस्थाका कारण भित्रै फसेका थिए । सञ्चारकर्मीहरू आफैँ बाहिर निस्कन सफल भए पनि अस्पताल परिसरमा रहेका सुरक्षाकर्मी र कर्मचारीलाई थप मद्दतका लागि पुगेको प्रहरी टोलीले उद्धार गरेको थियो ।
झडप, तोडफोड र आगजनीपछि फेटा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पताल उद्घाटनको विषयमा उत्पन्न सामान्य विवाद समयमै समाधान हुन नसक्दा एक किशोर प्रहरीको गोलीबाट गम्भीर घाइते हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको छ ।
घटनापछि स्थानीय प्रशासनले दुवै पक्षसँग संवाद गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । अस्पताल उद्घाटनको विवादले हिंसात्मक रूप लिएपछि अहिले फेटाको सुरक्षा अवस्था र घाइते बालकको स्वास्थ्य अवस्थालाई चासोका साथ हेरिएको छ ।




