रौतहट,१३ कार्तिक । रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ भएको दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको हो। दुर्घटनामा उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा ना.२ त ४७८६ नम्बरको ट्याक्टर र बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा घाइते भएका थिए। दुर्घटनापछि दुवैलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती निशाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतक चौधरी बारा जिल्लास्थित इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान रहेको खुलेको छ। श्रीमान्–श्रीमती दुवै प्रहरी सेवामा कार्यरत रहेको अवस्थामा भएको यस दुर्घटनाले परिवारमा दुःखद अवस्था सिर्जना गरेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्।




