दसैँमा पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

spot_img

काठमाडौं ,२० असोज । नेपाल पर्यटन बोर्डले नेपालीहरूको मौलिक चाड दसैँको संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै देशभरका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ।

दसैँको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको लिङ्गे पिङलाई पर्यटकीय गतिविधिसँग जोडेर नेपाली संस्कृति तथा परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले यस्तो तयारी गरेको हो। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौं उपत्यकासहित विभिन्न पर्यटकीय क्षेत्रमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा पिङ निर्माण गर्न लागेको जनाएको छ।

बोर्डका अनुसार पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधि सञ्चालनका लागि उपयुक्त स्थान छनोट गरी त्यहाँ लिङ्गे पिङ निर्माण गरिनेछ। निर्माण गरिएका पिङहरू दसैँ अवधिभर सञ्चालनमा रहनेछन्। यसका लागि बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल तथा होटल व्यवसायी महासंघलगायतका स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य गरेको जनाएको छ।

दसैँको समयमा पर्यटकीय गन्तव्यमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृति र परम्परासँग प्रत्यक्ष जोड्ने माध्यमका रूपमा लिङ्गे पिङलाई प्रयोग गर्ने बोर्डको तयारी छ। यसबाट पर्यटकीय क्षेत्रमा दसैँको सांस्कृतिक वातावरण निर्माण हुनुका साथै स्थानीय स्तरमा समेत चाडपर्वसँग सम्बन्धित गतिविधि बढ्ने अपेक्षा गरिएको छ। पिङ निर्माण तथा सञ्चालनका क्रममा सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पक्षले पिङ सञ्चालन गर्ने क्रममा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्नेछ।

पिङ सञ्चालन हुने स्थानमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापन गर्नुपर्ने तथा पर्यटक तथा सर्वसाधारणको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बोर्डले जनाएको छ।

त्यसैगरी दसैँ कार्यक्रम सम्पन्न भएपछि निर्माण गरिएका पिङहरू हटाएर पिङ निर्माण गरिएको स्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षलाई दिइएको छ। यसले अस्थायी रूपमा निर्माण गरिएका संरचनाका कारण पर्यटकीय स्थलको मौलिक स्वरूप तथा वातावरणमा असर नपरोस् भन्ने उद्देश्य राखेको छ।

नेपाल पर्यटन बोर्डले नेपालीहरूको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै त्यसलाई पर्यटन गतिविधिसँग जोडेर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ।

बोर्डका अनुसार दसैँजस्ता मौलिक चाडपर्वमा प्रचलित सांस्कृतिक गतिविधिलाई पर्यटकीय गन्तव्यसँग जोड्दा पर्यटकलाई नेपालको जीवनशैली, परम्परा र सांस्कृतिक विविधतासँग नजिकबाट परिचित गराउन सहयोग पुग्नेछ। यही उद्देश्यअनुसार पर्यटकीय क्षेत्रमा लिङ्गे पिङ निर्माण तथा सञ्चालनको तयारी गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once