जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामै विपद्का ४५९ वटा घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५१० परिवार प्रभावित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन् ।
यस अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट लाग्ने, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण, डुबानलगायतका विपद्का घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर सबैभन्दा बढी मृत्यु
प्रदेशमा भएका विभिन्न विपद्का घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी रहेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुई महिनाको अवधिमा करेन्ट लागेर मात्रै ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी पानीमा डुबेर २९ जनाले ज्यान गुमाएका छन् । जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना तथा आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य विभिन्न विपद्का घटनामा थप १३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य रहेको प्रहरीको भनाइ छ । बाढी, डुबान तथा पानीमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकासमेत प्रभावित हुने गरेका छन् ।
आगलागीका ११२ र करेन्टका १०७ घटना
प्रहरीका अनुसार दुई महिनाको अवधिमा आगलागीका मात्रै ११२ वटा घटना भएका छन् । आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको छ । त्यस्तै, करेन्ट लागेका १०७ घटना भएका छन् । यस अवधिमा पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना भएको प्रहरीले जनाएको छ । आगलागी र करेन्टसँग सम्बन्धित घटनाको सङ्ख्या उल्लेख्य रहेकाले यस्ता घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना आवश्यक रहेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।
दुई महिनामा झन्डै तीन करोडको भौतिक क्षति
विपद्का ४५९ घटनाबाट रु दुई करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । आगलागीबाट मात्रै २१२ परिवारका घर जलेका छन् । आगलागीका कारण रु दुई करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । त्यसैगरी बाढी तथा पहिरोबाट रु ११ लाख ९० हजार, चट्याङबाट रु तीन लाख, जङ्गली जनावरको आक्रमणबाट रु दुई लाख ७२ हजार तथा अन्य विभिन्न विपद्का घटनाबाट रु चार लाख ६३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विपद्का घटनाबाट घर तथा सम्पत्तिमा क्षति पुग्दा कतिपय परिवार विस्थापितसमेत भएका छन् ।
वर्षायाममा बाढी–डुबानको जोखिम
मधेस प्रदेशमा वर्षायामसँगै बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ । वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी तथा अन्य जलाशयमा डुबेर मानिसको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । बाढी तथा डुबानका कारण ग्रामीण क्षेत्रका बस्ती, सडक तथा अन्य भौतिक संरचनामा समेत असर पर्ने गरेको छ । नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।
उद्धार तथा राहतमा प्रहरी परिचालन
विपद्का समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायले समन्वय गर्दै आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विपद् व्यवस्थापन तथा उद्धार कार्यका क्रममा दुई महिनामा २ हजार ८६९ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।
प्रहरीले बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थाका साथै विपद्का घटनामा खोजी तथा उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण र राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
मधेस प्रदेशका आठवटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिने गरिएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । उनका अनुसार विपद्को अवस्था देखिएमा आवश्यकताअनुसार प्रहरी टोलीलाई तत्काल परिचालन गर्ने गरिएको छ ।




