सिरहा,१७ असोज । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ स्थित दरैया इलाकाबाट उनीहरू पक्राउ परेका हुन्।
एसपी थापाका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरिएको अवस्थामा ६ वटा बोरामा राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा तौल गर्दा ११० किलो ७६० ग्राम रहेको पाइएको छ। 
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको एसपी थापाले जानकारी दिए।




