वीरगंजमा ‘वास्तु विहार’ आवासीय परियोजनाको निर्माण अघि बढ्दै

spot_img

वीरगंज,१२ असोज । वीरगंज महानगरपालिका–१५ लक्षुमनामा ‘वास्तु विहार’ आवासीय परियोजनाको निर्माण कार्य अघि बढिरहेको छ। भारतमा सन् २००२ देखि आवास निर्माण क्षेत्रमा काम गर्दै आएको टेक्नोकल्चरले नेपाल सरकारको उद्योग विभागबाट स्वीकृति लिएर वीरगंजमा कार्यालय स्थापना गरी परियोजना सञ्चालन गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार परियोजनाअन्तर्गत वीरगंजमा करिब २०० वटा व्यवस्थित आवासीय घर निर्माण गर्ने लक्ष्य राखिएको छ। परियोजनाको काम अघि बढ्दै गर्दा हालसम्म ४२ जनाले घर खरिदका लागि अग्रिम रकम बुझाइसकेको कम्पनीले जनाएको छ। एकैपटक ठूलो रकम लगानी गर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले जग्गा खरिददेखि घर निर्माणसम्म चरणबद्ध भुक्तानीको व्यवस्था गरेको जनाएको छ। कम्पनीका अनुसार ग्राहकले जग्गा खरिदका लागि कुल रकमको ३० देखि ४० प्रतिशत भुक्तानी गरेपछि जग्गा पास गर्ने व्यवस्था गरिएको छ।

जग्गा पास भएपछि नक्सा पासलगायत आवश्यक प्रशासनिक प्रक्रियामा कम्पनीले सहजीकरण गर्ने र सम्झौताअनुसार घर निर्माणको काम अघि बढाउने जनाएको छ। घर निर्माणको प्रगतिका आधारमा ग्राहकले चरणबद्ध रूपमा रकम भुक्तानी गर्न सक्ने व्यवस्था रहने कम्पनीको भनाइ छ। टेक्नोकल्चरका अनुसार भारतमा हालसम्म करिब ३६ हजार घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ। भारतमा आवास निर्माणका क्षेत्रमा हासिल गरेको अनुभवलाई वीरगंजमा समेत प्रयोग गर्दै व्यवस्थित तथा पहुँचयोग्य आवास निर्माण गर्ने कम्पनीले लक्ष्य लिएको जनाएको छ।

परियोजनाका नेपाल प्रमुख शशि कुमारका अनुसार ‘वास्तु विहार’ले घर निर्माणसँगै ग्राहकलाई आवश्यक प्रशासनिक तथा अन्य प्रक्रियामा समेत सहजीकरण गर्नेछ। उनका अनुसार परियोजनाको ब्रान्ड एम्बेसडरका रूपमा अभिनेता राजेश हमाललाई अनुबन्ध गरिएको छ।

वीरगंजमा व्यवस्थित आवासको माग बढिरहेको अवस्थामा ‘वास्तु विहार’ परियोजनाले आवास निर्माणको क्षेत्रमा नयाँ विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ। कम्पनीले भारतमा हासिल गरेको अनुभव, चरणबद्ध भुक्तानी प्रणाली तथा निर्माण प्रक्रियामा सहजीकरणमार्फत ग्राहकलाई सहज आवास खरिदको अवसर उपलब्ध गराउने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once