कांग्रेस महाधिवेशन विवाद : देउवा पक्षले पनि अघि बढायो छुट्टै कार्यतालिका

spot_img

काठमाडौँ,११ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर विवाद चर्किएका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र बनाएको छ ।

संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्दै वार्ता र सहमतिका आधारमा संयुक्त रूपमा महाधिवेशन गर्नुपर्ने आफ्नो माग सुनुवाइ नभएपछि देउवा पक्षले छुट्टै कार्यतालिकासहित अधिवेशन प्रक्रिया अघि बढाएको हो । देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै आधिकारिक मान्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभएको जनाएको छ ।

देउवा पक्षका महाधिवेशन तयारी समितिका संयोजक डा. शशाङ्क कोइरालाका अनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ । त्यसका लागि विभिन्न जिल्लामा निर्वाचन संयोजक तथा प्रतिनिधि खटाउने कामसमेत अघि बढाइएको छ । 

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अहिले महाधिवेशन गर्न नहुने धारणा देउवा पक्षले राख्दै आएको छ । तर संस्थापन पक्षले असोज ३ गतेदेखि प्रतिनिधि छनोट प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि समानान्तर रूपमा आफ्नो अधिवेशन प्रक्रिया अगाडि बढाएको हो । संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ ।

यसैबीच, देउवा पक्षद्वारा गठित क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको जनाएको छ । समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई शनिबार क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गर्नुभएको हो ।

संयोजक पौडेलका अनुसार असोज ९ गतेसम्म वितरण तथा नवीकरण भएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको छ । उहाँका अनुसार कुल ७ लाख ८३ हजार ८३६ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये ५ लाख ७३ हजार ३६९ पुराना सदस्यको नवीकरण र २ लाख १० हजार ६६७ नयाँ सदस्य रहेको बताइएको छ ।

पौडेलले क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी पाएपछि तोकिएको समयभित्र विवरण टुंग्याएर निर्वाचन समितिलाई हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले अब निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न समस्या नरहेको दाबी गर्नुभयो ।

देउवा पक्षका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको महाधिवेशन गराउने उद्देश्यले अन्तिम समयसम्म प्रयास गरिएको बताउनुभयो । तर सहमति जुट्न नसकेपछि समानान्तर महाधिवेशनको तयारीमा लाग्नुपरेको उहाँको भनाइ छ ।

‘हामी पार्टीभित्र एकताको महाधिवेशन गर्न चाहन्थ्यौँ । यसका लागि अन्तिमसम्म प्रयास गर्‍यौँ र सबै ढोका खुला राखेर सहमतिको प्रयास पनि गर्‍यौँ । तर सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ,’ महतले भन्नुभयो ।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशनबाट प्रक्रिया अघि बढाउँदै मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने संस्थापन पक्षले आफ्नै कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ । यससँगै कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर दुवै पक्षबाट छुट्टाछुट्टै अधिवेशन प्रक्रिया सञ्चालन हुने अवस्था बनेको छ । आपत्कालीन मोडमा तयारीमा लागेका छौँ ।”
#रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once