वीरगंज,०३ चतै । कास्कीको लिचीवारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ।
गुप्ताको निवेदनमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेन । निवेदक गुप्ताका कानून व्यवसायीबाट सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ।
यसअघि विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उक्त आदेशविरुद्ध गुप्ताले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले यसअघि निवेदनमाथि कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो।
पोखराको लिचीवारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
![]()
अभियोग अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ।





