वीरगंज,०५ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सिवान टोलमा सुशील कुमार कानु को घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार कानुको कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। युवादेखि जेष्ठ नागरिकसम्मको उपस्थितिले चुनावी माहोल उत्साहपूर्ण बनेको थियो।
घरदैलो कार्यक्रमका क्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याए। उनले सामाजिक सुरक्षा कार्यक्रम सरकारको दायित्व भएको भन्दै मतदातालाई झुटो आश्वासनमा नपरी सही निर्णय गर्न आग्रह गरे। उनका भनाइले कार्यक्रममा सहभागीहरूबीच सकारात्मक सन्देश फैलिएको देखिन्थ्यो।
कार्यक्रमका क्रममा कानुले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाका प्राथमिक एजेन्डा प्रस्तुत गरे। उनले दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुधार, शिक्षामा समान पहुँच, युवाका लागि स्थायी रोजगारी तथा कृषिमा आधारित स्वरोजगार सिर्जना गर्ने प्रतिबद्धता जनाए।
“राजनीति भाषणमा होइन, परिणाममा देखिनुपर्छ,” कानुले भने, “जनताको जीवनस्तर सुधार नै हाम्रो पहिलो लक्ष्य हुनेछ।”
घरदैलोमा युवादेखि जेष्ठ नागरिकसम्मले “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा लगाउँदै रास्वपाप्रति भरोसा व्यक्त गरेका थिए। स्थानीयवासीहरूले पुराना दलबाट अपेक्षित विकास नपाएको गुनासो गर्दै यसपटक नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए।
घरदैलो कार्यक्रमले अलौ सिवान टोलमा रास्वपाप्रति बढ्दो आकर्षण र परिवर्तनको चाहना स्पष्ट देखिएको स्थानीयहरूको भनाइ छ। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।





