काठमाडौँ,११ माघ । गृह मन्त्रालयले राष्ट्रिय गौरवको प्रतीक नेपालको झण्डाको मर्यादित प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । दुरुपयोग गरे कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ ।
सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले प्रेस विज्ञप्ति जारी गर्दै झण्डा प्रयोगसम्बन्धी कार्यविधि र कानुनको पालना गर्न सबैलाई अनुरोध गरेका हुन् । मन्त्रालयका अनुसार ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’, निर्वाचन आचारसंहिता, २०७२ र मुलुकी अपराध संहिता, २०७४ मा राष्ट्रिय झण्डाको प्रयोगका स्पष्ट नियम र निषेध उल्लेख छन् ।
झण्डालाई उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, व्यापारिक प्रयोजनमा प्रयोग गर्ने, शरीरको कम्मरमुनि वा छातीमुनि लगाउने वा भित्री कपडामा प्रतीक राख्ने काम पूर्णतः निषेधित छन् ।
मन्त्रालयले उल्लङ्घन गरे कारबाही र सजाय हुने स्मरण गराएको छ । दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा दश वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाउने नियम पनि कडाइका साथ पालना गर्न सबैलाई अनुरोध गरिएको छ ।





