वीरगंज,१० माघ । पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा शनिबार वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित होटल पुजनमा सम्पन्न भएको छ।
संघका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षता तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मी, संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भण्डारीलगायत वक्ताहरूले संघको संरक्षण, संवर्द्धन र विकासका लागि शुभकामना व्यक्त गरेका थिए।
सभामा संघका उपाध्यक्ष सन्दीप गुप्ताले स्वागत मन्तव्य प्रस्तुत गरे भने महासचिव प्रदीप लोहारले संघको वार्षिक प्रतिवेदन पेश गरे। कोषाध्यक्ष राकेश साहले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै आगामी आर्थिक वर्ष २०८१/८२ का नीति, कार्यक्रम तथा वार्षिक बजेटमाथि छलफल गरी अनुमोदन गरिएको संघले जनाएको छ।
सभामा संघको दर्ता नवीकरण, नयाँ लेखापरीक्षक नियुक्ति, विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संगठनात्मक सुदृढीकरणका प्रस्तावहरू पनि पेश गरिएको थियो। मदिरा व्यवसायसँग सम्बन्धित समस्या, कर प्रणाली, प्रशासनिक झन्झट, व्यवसायीको हकहित संरक्षण तथा बजार व्यवस्थापनका विषयमा समेत विस्तृत छलफल भएको थियो।
सभाको बन्द सत्रबाट संघको नयाँ कार्यसमिति गठन गरिएको छ। जसअनुसार अध्यक्षमा चिनिलाल पटेल, उपाध्यक्षमा सन्दीप कुमार गुप्ता, महासचिवमा प्रदीप कुमार लोहार, सचिवमा रविन्द्र प्रताप साह तथा कोषाध्यक्षमा राकेश कुमार साह चयन भएका छन्। सदस्यहरूमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रञ्जित जैसवाल सर्वसम्मत चयन भएका छन्।
कार्यक्रममा सहभागी सबै सदस्य तथा प्रतिनिधिलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो। संघले वार्षिक साधारण सभालाई नीति निर्माणको महत्वपूर्ण अवसरका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा व्यवसायी हित र संगठन सुदृढीकरणका लागि प्रभावकारी कार्यदिशा तय गर्ने विश्वास व्यक्त गरेको छ।





