वृन्दावन (रौतहट), १० पुस । रौतहटको वृन्दावन नगरपालिका–९ भुसहा टोल । बाहिरबाट हेर्दा सामान्य देखिने एउटा खपडाको घरभित्र लुकेको थियो एउटा निर्मम अपराध । त्यही घरको एउटा कोठाभित्र खाल्डो खनेर बोरामा हालिएको अवस्थामा १८ वर्षीया तहरीमा खातुनको शव फेला परेपछि यो गाउँ स्तब्ध बन्यो । मंसिर ९ गते उजागर भएको यो घटनाले पारिवारिक सम्बन्ध, सामाजिक सोच र अपराधको भयावह स्वरूपलाई एकैपटक उजागर गरिदियो ।
कोठाभित्र खनिएको खाल्डो र त्यसमाथि पुरिएको शव देखेपछि प्रहरीले तहरीमाको हत्या भएको निष्कर्ष निकाल्दै तत्काल अनुसन्धान थालेको थियो । प्रारम्भिक सूचनाले नै घटना घरभित्रकै सदस्यसँग जोडिएको संकेत गरिरहेको थियो । घटनाको भोलिपल्टै मंसिर १० गते प्रहरीले तहरीमाका ससुरा महमद अली र दाजु आश महमदलाई पक्राउ गरेपछि घटनाको डरलाग्दो विवरण बाहिर आउन थाल्यो ।
गुजरा नगरपालिका–७ पल्टुवाका आश महमद र वृन्दावन–९ भुसहा टोलका ७५ वर्षीय महमद अलीले प्रारम्भिक बयानमै हत्यामा संलग्नता स्वीकार गरेका थिए । उनीहरूलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
सम्बन्धको जटिल जाल
तहरीमा महमद अलीकी बुहारी थिइन् भने आश महमद उनका दाजु । अलीका १० भाइ छोरामध्ये सातौं छोरा शेख आदिलकी पत्नी थिइन् तहरीमा । आश महमदले आफ्नी बहिनीकी नन्दसँग विवाह गरेका कारण उनी तहरीमाका दाजु मात्र होइन, ज्वाइँ नातामा पनि जोडिन्थे । घटनाको रात दुवै अभियुक्त घरमै रहेको पुष्टि प्रहरीले गरेको छ ।
प्रहरी अनुसन्धानका अनुसार तहरीमाको हत्या विवाहेतर सम्बन्धको आरोपसँग जोडिएको छ । अली र आश महमदको बयानअनुसार तहरीमाको अलीका जेठा छोराका छोरा अर्थात् नातिसँग सम्बन्ध थियो । गत कात्तिक १९ गते दुवै जनालाई सँगै देखेपछि गाउँलेले नियन्त्रणमा लिई चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।
त्यसपछि अलीले ‘अब मेरो छोराले बुहारीलाई राख्दैन, यही भतिजोसँग विवाह गराइदिन्छु’ भन्दै तहरीमालाई घर ल्याएको खुलेको छ । माइती पक्षले एक सन्तानकी आमा तहरीमालाई पटक पटक सम्झाएर घर नबिगार्न आग्रह गरे पनि स्थिति सुध्रिएन । अन्ततः परिवारकै सदस्यहरूले योजनाबद्ध रूपमा हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
योजनाबद्ध अपराध
प्रहरीका अनुसार मृतकका दाजु आश महमद करिब १५ दिनअघि ससुराली आइपुगेका थिए । उनकै योजनामा मंसिर ८ गते राति घरका सबै सदस्य मिलेर तहरीमाको हत्या गरिएको हो । हत्या गरेपछि शवलाई कोठाभित्रै खाल्डो खनी गाडिएको र त्यसपछि घरका सदस्यहरू फरार भएका थिए ।
घटनाको समयमा घरमा महमद अली दम्पती, तहरीमा, उनका डेढ वर्षका नाबालक छोरा, दुईजना देउरानी–जेठानी र नाबालक देवरहरू थिए । हत्या भएपछि घरका सबै सदस्य भागेका थिए । हालसम्म आश महमद र महमद अली मात्र पक्राउ परेका छन् । तहरीमा–आदिलका नाबालक छोरा समेत अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
तहरीमाका पति शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । श्रीमतीको हत्या र छोरा बेपत्ता भएको खबरले उनको परिवारमाथि थप पीडा थपिएको छ ।
खोजी जारी, प्रश्न बाँकी
प्रहरीले फरार रहेका परिवारका अन्य सदस्यहरूको खोजी तीव्र पारेको जनाएको छ । तर यो घटना केवल एउटा हत्या प्रकरण मात्र होइन, सामाजिक सोच, पारिवारिक दबाब र ‘इज्जत’को नाममा हुने हिंसाको भयावह उदाहरण बनेको छ ।
घरभित्रै खाल्डो खनी बुहारीलाई गाडिएको यो अपराधले एउटा गम्भीर प्रश्न छोडेको छ कानुनभन्दा माथि ‘इज्जत’ ठान्ने मानसिकताले अझ कति जीवन लिने ?





