वीरगंज,१० पुस । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशतले बढी हो।
गत आवको पाँच महिनामा वीरगंजनाकाबाट २१ अर्ब १८ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए। तर चालु आवमा निर्यातमा १८ अर्ब ७९ करोड रुपैयाँको वृद्धि देखिएको वीरगंजभन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवको पाँच महिनामा निर्यात गतिविधि उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी प्रशोधित कृषि तथा खाद्य वस्तुको निर्यातमा वृद्धि भएको उनले बताए।
कार्यालयका तथ्यांकअनुसार चालु आवको पाँच महिनामा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ। त्यस्तै, तीन अर्ब सात करोड रुपैयाँ मूल्यको फलफूलको जुस विदेश पठाइएको छ।
यसैगरी दुई अर्ब ८७ करोड रुपैयाँ बराबरको सूर्यमुखीको प्रशोधित तेल, एक अर्ब ९७ करोड रुपैयाँको प्रशोधित पाम तेल तथा एक अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न किसिमका कपडाहरू निर्यात भएका छन्।
निर्यातमा आएको यो वृद्धिलाई औद्योगिक उत्पादनमा सुधार, प्रशोधन उद्योगको विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढ्नुका रूपमा हेरिएको छ। भन्सार कार्यालयले आगामी महिनाहरूमा पनि निर्यातको सकारात्मक प्रवृत्ति निरन्तर रहने अपेक्षा गरेको छ।





