वीरगंज,२४ मंसिर । वीरगंज महानगरपालिकालाई यहाँका विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन्। बुधबार एक कार्यक्रमका बीच बैंकहरूले महानगरलाई नौ थान कम्प्युटर हस्तान्तरण गरेका हुन्।
जेन्जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगर कार्यालयको भवन तथा उपकरणहरू नष्ट भएपछि नगरको सेवाप्रवाहमा गम्भीर असर परेको थियो। नियमित प्रशासनिक कामकाज सहज बनाउने उद्देश्यले बैंकहरूको तर्फबाट यो सहयोग गरिएको हो।
एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले एक–एक थान गरी ९ वटा कम्प्युटर उपलब्ध गराएका छन्। यो सहयोग महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा गरिएको हो।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा वीरगंज महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा सहयोग उपलब्ध गराएकोमा बैंकहरूप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो घडीमा प्राप्त साथ–समर्थनले फेरि उठ्ने हिम्मत दिएको छ।”
त्यसैगरी बैंकर एसोसिएशन, पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखा प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा दिन आवश्यक उपकरण सहयोगपूर्वक प्रदान गरिएको बताउनुभयो।
यसअघि पनि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपालसहित धेरै संघ–संस्थाले महानगरलाई विभिन्न सामग्री सहयोग गरिसकेका छन्।





