काठमाडौं,२३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक फाइनल यात्रा सुरक्षित गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
१ सय ५७ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको विराटनगर किङ्ग्स १४ ओभर १ बलमै ७८ रनमा समेटियो। टोलीका फाफ डु प्लेसिसले ३६ रन बनाए भने मर्चेन्ट डे लाङ्गे १५ रनमै रोकिए। सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट हात पारे। हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको चुनौती प्रस्तुत गरेको थियो। विनोद भण्डारीले इनिङ्सको मेरुदण्ड बन्ने ६३ रन जोडे। त्यस्तै, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २०–२० रन थपे। विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २–२ विकेट लिए।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा शीर्ष स्थान हासिल गर्दै सिधै क्वालिफायर–१ मा पुगेको थियो। भने, सन्दीप लामिछाने नेतृत्वकर्ता विराटनगर दोस्रो स्थानमा रहेर क्वालिफायर–१ मा प्रवेश गरेको हो। सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता टोली पनि रहेको छ।
अब विराटनगरले फाइनलको अन्तिम स्थान सुरक्षित गर्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। उक्त खेलमा उसले इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटर भोलि दिउँसो ४ बजे काठमाडौँ गोर्खाज (कप्तान करण केसी) र लुम्बिनी लायन्स (कप्तान रोहित पौडेल) बीच हुनेछ। विजेता टोलीले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे खेलिने छ। यसैगरी, एनपीएल–२ को फाइनल खेल आउँदो शनिबार दिउँसो ३:३० बजे हुने आयोजकले जनाएको छ।





