वीरगंज, ४ मंसिर । पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा गम्भीर प्रकृतिका आपराधिक मुद्दामा फरार रहेका व्यक्ति खुलेआम घुमिरहनु, तर स्थानीय प्रशासन र नेपाल प्रहरी भने मौन बसेजस्तो देखिनु, जिल्लावासीका लागि चिन्ताको प्रमुख कारण बनेको छ । प्रहरीको उपस्थितिका बाबजुद अपराधीहरू दण्डहीन रूपमा गाउँ–बस्तीमै हिंडडुल गर्न थालेपछि स्थानीयहरू त्रसित मात्र होइन, निराश पनि भएका छन् ।
सदरमुकाम वीरगंज महानगरपालिकादेखि ग्रामीण क्षेत्रका पालिकासम्म सखुवा प्रसौनी, पटेर्वा सुगौली, जगरनाथपुर, जीराभवानी, ठोरी, धोबिनी, कालिकामाई, छिपहरमाई, विन्दवासिनी, पकाहामैनपुर, पोखरिया, पर्सागढी र बहुदरमाई सबै स्थानमा फरार प्रतिवादीहरूको खुलेआम गतिविधि सामान्य जस्तो देखिन थालेको स्थानीयको अनुभव छ ।
अदालत र प्रहरीको सूचीमा रहेका फरार व्यक्तिहरू सामान्य दुर्व्यवहारका आरोपी मात्र नभई जघन्य अपराधमा मुछिएकाहरू छन् । लेनदेन विवाद, कुटपिट, शरीर बन्धक, ज्यानमार्ने उद्योग, महिला हिंसा, चोरी, जबर्जस्ती करणी, लागुऔषध कारोबार, जालसाजी, काठ तस्करी, बोक्सीको आरोप, दुर्व्यवहार तथा वन्यजन्तु चोरी जस्ता सम्वेदनशील मुद्दाका प्रतिवादीहरू नै गाउँघरमै निडर रूपमा बसिरहेका छन् ।
स्थानीयका अनुसार, लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका वा केही समय फरार बस्ने धेरै व्यक्ति पुनः अवैध गतिविधिमा सक्रिय हुँदैछन् । यसले युवाहरूलाई दुर्व्यसनको जन्जालमा तान्ने खतरा झनै बढेको छ । पटेर्वा सुगौलीका एक स्थानीय बासिन्दा भन्छन्, ‘प्रहरीले मन बनाए एक घण्टामै यी सबै समातिन्छन्, तर अपराधीहरू दिनदहाडै हिँडिरहँदा पनि प्रहरी मौन बस्नु आश्चर्यजनक छ ।’
महिला हिंसा वा वन्यजन्तु चोरीजस्ता सम्वेदनशील मुद्दामा समेत पीडकहरू दण्डहीन रहँदा पीडितले न्यायको आशा गर्न समेत डराउने अवस्था बन्दैछ । साक्षीहरूलाई धम्क्याउने, दबाब दिने जस्ता घटनाले कानुनी शासन र न्यायिक प्रक्रियाप्रतिको विश्वास चर्को रूपमा कमजोर बनाइरहेको स्थानीयहरूको गुनासो छ ।
यही अवस्थाले त्रसित बनेका जिल्लावासीहरूले नेपाल प्रहरीले तात्कालीन रूपमा जिल्लाव्यापी ‘विशेष अपरेसन’ संचालन गरेर फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् । शान्ति–सुरक्षा कायम राख्न, पीडितलाई न्याय दिलाउन र प्रहरीप्रतिको विश्वास पुनः स्थापित गर्न अहिलेको परिस्थितिमा यो कदम अपरिहार्य भएको उनीहरूको भनाइ छ ।





