Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
20.1 C
Kathmandu

भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

spot_img

३ साउन, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्यूरो काठमाडौंको टोलीले बुधबार ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।
ब्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए। उनले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तर्वार्तासमेत लिएका थिए।

लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए। अधिकारीले सुरुमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएका थिए। दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाए। मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए।

उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतन समेत गराएको खुलेको मिश्र बताउँछन्। त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याएर अर्का एजेन्टको जिम्मा लगाए। त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको मिश्रले बताए। आफूमाथि शोषण सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइदिन अनुरोध गरिन्।

रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत् ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिए। मिश्रका अनुसार त्यसपछि ती महिला २०८० मंसिर ३ गते नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन्। अधिकारीलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरी अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको मिश्रले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once