वीरगंजमा,०९ फागुन । वीरगंजमा साेमबारदेखि लगाइएको कर्फ्यु बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले बीरगन्ज महानगर क्षेत्रमा साेमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेकाे हाे।
बीरगन्जमा साेमबारदेखि दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण उत्पन्न तनावकाे स्थिति साम्य हुदै गएकाेले सर्वसाधारण नागरिककाे सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि साेमबार साँझ देखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
यसअघि मंगलबार राति बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यु खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत राख्ने निर्णय गरेकाे थियाे ।तर बुधबार बिहान १० बजे फेरि बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले भने अवस्था सामान्य बन्दै गएकाे देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेकाे भुसालले बताए ।





