वीरगंज,०८ फागुन ।वीरगंज महानगरपालिकामा दोस्रो दिन पनि बिहान १० बजेदेखि कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले ४ घण्टाका लागि खोलेको कर्फ्यु पूनः १० बजेदेखि यथावत् गरिएको हो ।
कर्फ्यु जारी भएपछि अहिले वीरगंजबजार बन्द छ । यस्तै मुख्य सडक तथा गल्लीमा रहेका सबैजसो पसलहरु पूर्णरुपले ठप्प छन् । भने महानगरभित्र चल्ने साना तथा ठूला सवारीसाधनहरु चलेका छैनन् । कर्फ्यु आदेश पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपले महानगरपालिकाभित्र खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाका अनुसार दोस्रो दिनको कर्फ्युको पालना गराउन प्रत्येक मुख्य सडकहरु, चोकचोक एवम् संवेदनशील ठाउँहरुमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् ।
महानगरपालिकाभित्र प्रहरीको मोबाइल गस्ती, पेट्रोलिङ तथा सादा पोशाकसहित व्यापक संख्यामा खटाइएको उनले जनाए ।
यसैबिच पर्सा प्रहरीले महानगरपालिकाभित्र कर्फ्यु आदेश जारी रहेको समयमा उच्छृङ्खल गतिविधि गरेको भन्दै ९ जनालाई पक्राउ गरेको जनाएको छ ।
कर्फ्युको बेवास्ता गरेर टायर बाल्दै प्रदर्शन गर्ने तथा नाराबाजी गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक ध्रुवबहादुर श्रेष्ठले बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको प्रहरीले बताए ।





