Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu

काठमाडौंमा आन्दोलन गर्न ओइरिए शिक्षकहरु

spot_img

काठमाडौं,०३ असाेज। देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गर्न आएका विभिन्न राजनीतिक दलका संगठनमा आबद्ध शिक्षकहरुले नेपाल शिक्षक महासंघको अगुवाइमा आजदेखि माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका छन्।
सरकारले हालै संसद् लगेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका हुन्। सरकारले ल्याएको नयाँ शिक्षा विधेयकमा शिक्षकलाई राजनीतिबाट निषेध गरिएको छ भने विद्यालय व्यवस्थापनको अध्यक्ष अभिभावकबाट छानिने भनिएको छ। विद्यालयमा राजनीति गर्न पाउनुपर्ने, राजनीतिक दलका मान्छे विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुपर्ने, राजनीतिक दलका नेताको सिफारिसमा विद्यालयमा अस्थायी करार नियुक्ति पाएका शिक्षकलाई सीधै स्थायी गर्नुपर्नेलायत १८ बुँदे माग अगाडि सारेर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्।

शिक्षकले सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग पनि अगाडि सारेका छन्। माइतीघर भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर आएर यतिबेला कोणसभा गरिरहेका छन्।

हजारौं, शिक्षक कर्मचारी काठमाडौंमा आएकाले आफूहरुको माग सम्बोधनका लागि सरकारलाई बाध्य पारिने नेपाल विद्यालय कर्मचारी परिषद्का गंगाराम तिवारीले बताए। शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्।

शिक्षकको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। माइतीघर मण्डलामा भेला भएका शिक्षकले सडक कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त भएको हो।

ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरेको छ । नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकालीलगायतका स्थानबाट सवारी साधनलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गरिरहेका छन्।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गरलगायतका नारा अंकित प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन्।

शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी-करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार आदि शिक्षकका लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनका लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्नेलगायत १७ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once