वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १३ श्रीपुर स्थित स्नेक एण्ड प्याक उद्योग र फुडको नेपाल क्रोप प्रा.लि. मा प्रहरीले छापामारी गरेको छ । श्रवण रुंगटाको घरमा संचालन रहेको उद्योगमा म्याद सकेको सामग्रीहरु पुनः नयाँ प्याकिङ हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापामारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य तथा गुणस्तर कार्यालय वीरगंज र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त टोली पुग्दा एउटै घरमा संचालनमा रहेको स्नेक एण्ड प्याक उद्योग र फुडको नेपाल क्रोप प्रा.लि. म्याद गुज्रेको खाद्य सामग्रहीहरु पुनः प्याकिङ गरिरहेको फेला परेको प्रहरीले जनाएको छ ।
विना होर्डिङ बोर्डको एउटै घरमा गोप्य तरिकाले संचालनमा रहेको उद्योग र कम्पनीमा म्याद सकेको खाद्य सामग्रीहरु पुनः नयाँ प्याकिङ गरी नयाँ मितिकिो लेबल टाँसेर बजारमा बिक्री गर्ने गरेको फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । वीरगंज महानगरपालिकाको वडा नं. ७ निवासी संजय अग्रवाल, सोही ठाउँ निवासी विद्या कुमारी सरावगी र भरतपुर ३ चितवन निवासी सन्तोष कुमार अग्रवालले सो घरमा उद्योग र कम्पनी संचालन गर्दै आएका छन् । तीनै जनाले संयुक्त रुपमा प्याकिङ गर्ने काम गर्ने उद्देश्यले राखि स्नेक एण्ड प्याक उद्योग र सामान खरीद बिक्री गर्ने उद्देश्य राखि फुडको नेपाल प्रालि नामक कम्पनी दर्ता गराएर उद्योगमा म्याद सकेको सामान प्याकिङ गरी कम्पनी मार्फत बिक्री गर्ने गरेको फेला परेको हो ।
उद्योगमा म्याद सकेको खाद्य सामग्रीहरु पुनः प्याकिङ भइरहको फेला परेपछि उद्योगमा कार्यरत ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १३ निवासी ३२ बर्षिय मनिष कुमार चौधरी, वीरगंज महानगरपालिका कै वडा नं. ७ निवासी २३ बर्षिय आयुष अग्रवाल र वीरगंज महानगरपालिका कै वडा नं. १४ निवासी ३८ बर्षिय हरि नारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उद्योगमा म्याद सकेको अनुमानित ९५ लाख बराबरको खाद्य सामग्रीहरु फेला गरेको छ । उद्योगमा छापामारी भएको थाहा पाए लगतै संचालकहरु फरार भएका छन् । उद्योग संचालकहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उद्योग सञ्चालकहरू विरुद्ध मुलुकी फोजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता गिरीले जानकारी दिए ।
म्याद सकेको सामग्री पुनः प्याकिङ गरी बिक्री गर्ने उद्योगमा छापा, ठूलो परिमाणमा अखाद्य बस्तु बरामद
![]()





