वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. २१ स्थित सडक खण्डमा बुधबार सवारी दुर्घटना परी भारतिय महिलाको मृत्यु भएको छ । भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने वर्ष ५० की माला देबीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउसो १ः४५ बजेको समयमा ड्राईपोर्टबाट चोर्नी तर्फ जाँदै गरेको बिआर०५एएम१६२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलको पछाडी सवार महिलाको मोटरसाइकलबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मोटरसाइकलबाट लडी निजको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगंजमा ल्याएकोमा बिहिबार दिउसो १२ः३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
मृतकको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा लास राखिएको उनले वताए । मोटरसाइकल चालक भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नं.९ बस्ने वर्ष २३ को सचिन कुमारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रवक्ता गिरीले जानकारी गराए ।





