Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
23.1 C
Kathmandu

शिवम् लेयर्स फार्मको दुर्गन्ध एवं झिँगाबाट महामारीको उच्च जोखिम

spot_img

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित रहेको शिवम् लेयर्स फार्म प्रा.लि.को कारण हजारौं परिवार महामारीको शिकार बनेका छन् । कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको जोखिम बढेको छ । उक्त उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी नै फैलाएको छ ।
वीरगंजका नामुद व्यापारी शिवजी कलवारले संचालन गर्दै आएको उक्त उद्योगले फैलाएको दुर्गन्धबाट वरिपरि करिब ५ देखि ७ किलोमिटर वरिपरिका बासिन्दाहरु दुर्गन्ध एवं झिँगाबाट बढि प्रभावित छन् । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ । उनीहरुले गन्हाउने समस्याले गर्दा खाना समेत खान सकिदैन, झिँगाले गर्दा झुल लगाएर खाना खानुपर्छ, त्यसले पनि मान्दैन भन्दै झिँगा सहितको खाना खाएकै कारण आफ्नो ७ वर्षीय बच्चा विरामी परेको कपिलदेव सहनी बताउँछन् । यहाँका राजनीतिक दलले पनि उद्योग प्रशासनलाई साथ दिएकै कारण उद्योगको लापरवाहीले सिमा पार गर्दै गएको उनले बताए ।
अनावश्यक झिँगा भन्किने कार्यले गर्दा स्वास्थ्यमा समस्या हुनुका साथसाथै बालबालिका एवं गर्भवति महिलाको स्वास्थ्यमा पनि गम्भिर असर पारिरहेको छ । जस्तोसुकै सफासुघर रहेपनि झिँगाले स्थानीयलाई आजित बनाई रहेका छन् । उद्योग वरिपरिको बस्तीमा प्रवेश गर्ने वित्तिकै जीउ नै झिँगाले ढाक्छ । झिँगा आफै विभिन्न प्रकारका सरुवा रोगहरु फैलाई रहेको हुन्छन्, एउटा झिँगाले रोग फैलाउन सक्छ, भने जहाँ झिँगै झिँगाबीच बस्नुपर्दा कसरी महामारीको प्रकोपबाट बच्न सकिन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । उद्योगले वडा नं. १ र २ को करिब ५ वटा वस्तीमा बसोबास गर्ने सर्वसाधारणहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पारि रहेको छ । कामको शिलशिलामा पुरुषहरु वस्ती बाहिर गएपनि महिलाहरु दिनभरि झिँगा भगाउँदै बस्छन् । उद्योग संचालनको बखत दाल उद्योग संचालन हुने र स्थानीयहरुलाई जागिर दिने प्रलोभन देखाई संचालन भएको उद्योगले फैलाई रहेको दुर्गन्धको मार स्थानीयहरु विगत ५ वर्षदेखि झेल्दै आइ रहेका छन् ।
उनीहरुले दुर्गन्ध फैलाउने कार्यलाई मात्रै उद्योगले रोके हदसम्म समस्याको निराकरण हुन्थ्यो तर उद्योग पक्षको यसप्रति कुनै किसिमको चासो नरहेको स्थानीयहरुको भनाई छ । झिँगा आतँकले त्यस क्षेत्रमा महामारी फैलाउने उच्च सम्भावना छ । अहिले पनि त्यस क्षेत्रका अधिकाँश बालबालिकाहरु झाडापखाला, हैजा लगायत छाला सम्बन्धी विभिन्न प्रकारको रोगले ग्रसित छन् । त्यो भन्दा पनि गर्भवती महिला झिँगा आतँकबाट बढि प्रभावित छन् । स्वास्थ्यमा नै ठूलो समस्या ल्याउने गरेको छ । वस्तीका बालबालिका र वृद्धवृद्धा सधैं विरामी नै रहन्छन् । खाना बनाउँदा खाना मै झिँगा पर्छ, पस्किदा खानामा झिँगा पर्छ, झुल लगाएर खाना खादा पनि झिँगा सँगै खाना खाने बानी नै भइसकेको स्थानीयहरुको भनाई छ ।
यसबारे पटेर्वासुगौली गाउँपालिका कार्यालयकी उपप्रमुख ममता चौधरीले शिवम् लेयर्स फार्मले यस क्षेत्रका बासिन्दाको स्वास्थ्यसँग खेलवाड गरि रहेको बताइन् । उद्योग संचालक समितिले व्यवस्थापन पक्षलाई ध्यान नदिएको कारण झिँगा भन्किने एवं गन्हाउने समस्या उत्पन्न भएको बताइन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने गरिब, निमुखाहरुको स्वास्थ्यलाई ख्याल नै नगरि गरेको उद्योगले गरि रहेको चरम लापरवाहीले २ हजार घरधुरी एवं १० हजार भन्दा बढि जनता प्रभावित बनेको बताइन् । उनले महिलाहरु प्रायः जसो रिङ्गटा लाग्ने, बेहोस हुने, विभिन्न प्रकारका छालाको रोगहरु लाग्ने, खाना नरुच्ने, खान बस्न झिँगा परेपछि खान मन नलाग्ने अवस्था छ । बच्चाहरुलाई हैजा, झाडापखाला, स्किन डिजिज जस्ता छालाको रोगबाट ग्रसित रहेको हामीले पनि पाएका छौं, तर यसलाई रोक्न गाउँपालिका कम्मर कसेर लागेको बताइन् ।
पालिकाले संचालक समितिलाई पटक पटक यस समस्याबारे पत्राचार गरेको छ, तर उद्योग पक्षबाट धेरै आनाकानी भएको छ, अहिले पुनः अनुगमन गरिएको छ, यो अनुगमनबाट पक्कै सकारात्मक परिणाम आउने बताइन् । उद्योग पक्षले सम्झौता अनुसार कुनै किसिमको कार्य गरेको छैन, वातावरणीय परीक्षण प्रतिवेदन समेत पेश नगरेको अवस्थामा अब ३५ दिनको अन्तिम अल्टिमेटम दिइनेछ, र त्यसबाट पनि यो समस्या समाधान नभए उद्योगलाई बन्द गर्ने तर्फ नै पालिका लाग्ने बताइन् । उद्योग स्थापनाको बखत सर्वसाधारणलाई मात्रै होइन, जनप्रतिनिधिलाई पनि झुक्याइएको छ, दाल उद्योगको नाममा पशुजन्य पदार्थ उत्पादन गर्ने उद्योग संचालन गरिएको छ, उद्योग संचालनका विपक्षमा हामी पनि छैनौ, पालिकाले केही शर्तहरु दिएको थियो तर केही दिनसम्म त्यो शर्तहरु पालना गरि विस्तार वेवास्ता गर्दै आएको उनको भनाई छ । यो समस्यालाई अन्त्य गर्ने जनतासँग हामीले वाचा गरेका छौ र त्यो जसरी पनि पुरा गर्ने भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once