वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा आजदेखि श्री श्री १००८ श्री नवाह परायण प्राण प्रतिष्ठा महायज्ञ सुरु भएको छ । सबैठवा गाउँवासीको आयोजनामा सुरु भएको महायज्ञको पहिलो दिन मंगलबार कलश यात्रा निकालिएको थियो ।
कलश यात्राको उद्घाटन पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सरफुन नेशाले संयुक्त रुपमा गरेका थिए । सयौं कुंवारीहरुको सहभागितामा सबैठवाबाट निस्केको कलश यात्रा खेस्राहा, भेलहा, लहावरथकरी, भेडिहारी, गदियानी, गदियानी पोखरिया हुँदै सिकटा नदीमा जल भरी पुनः यज्ञ स्थलमा पुगी सम्पन्न भएको थियो ।
सुख, शान्ति एवम् समृद्धिको कामना गर्दै आयोजना गरिएको महायज्ञ ९ दिन सम्म चल्ने वडाध्यक्ष बलिराम चौरसियाले जानकारी दिए । यज्ञमा अन्तराष्ट्रिय ख्याती प्राप्त विद्वान मृदुभाषी वक्ता, कथावाचक, रामलीला, गायन कलाकारको प्रस्तुती रहने महायज्ञ समितिले जनाएको छ ।
यसका साथै मनोरन्जनको लागि झुला, मौत कुवाँ, सर्कस लगायतको खेलतामाशाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।





