Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
28.1 C
Kathmandu

अलौंको महायज्ञमा दलितलाई प्रवेश गर्न रोक लगाएपछि विरोध प्रदर्शन

spot_img

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा झण्डै दुइ ददशकपछि हुन लागेको शतचण्डी महायज्ञमा , महायज्ञ आयोजक समितिले प्रवेश गर्न नदिने भएपछि दलितहरु आन्दोलित भएका छन् ।अलौंमा २२ वर्ष पछि आगामी चैत ८ गते देखि शतचण्डी महायज्ञ आयोजना हुदैछ । तर उक्त महायज्ञमा दलितलाई प्रवेश गर्न नदिने भएपछि उनिहरु आन्दोलित भएका हुन् ।
महायज्ञ आयोजक समितिले नै जातीय छुवाछुतको विभेद गरेर महायज्ञमा प्रवेश गर्न नदिने भएपछि अलौंका दलितहरुले सोमबार वीरगन्जको बजारमा आएर विरोध प्रदर्शन नै गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद गर्न पाइदैन , हिन्दूको शोषण हिन्दूले नै गर्न पाइदैन , हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार गर्नेलाई कारबाही गर जस्ता नारा नाराबाजी पनि गरेका थिए । महायज्ञमा प्रवेश गर्न पाउनु पर्ने र छुवाछुतको विभेद गर्नेहरुलाई कारबाही गर्नु पर्ने माग राख्दै उनिहरुले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन–पत्र पनि बुझाएका छन् ।
महायज्ञमा प्रवेश गरि पूजापाठ गर्न पाउनका लागि विगत १ महिना देखि नै निरन्तर आवाज उठाउदै आएको भएपनि महायज्ञ आयोजक मूल समितिले वास्ता नगरेपछि सोमबार सडकमै उत्रिएर प्रदर्शन गर्नु परेको अलौंं निवासी कृष्ण राम चमारले बताए । उनले भने ,‘ २२ वर्ष पहिले पनि गाँउमा शतचण्डी महायज्ञमा भएको थियो , त्यस बेला पनि दलितलाई महायज्ञमा प्रवेश गर्न दिइएको थिएन , उ बेला हामी बच्चा थियौं , हाम्रा अग्रजहरु माथि अन्याय हुदा पनि चुप लागेर बसे , तर अहिले हामी बुझने र सचेत भइसकेका छौ , त्यसका कारण यसपालि हामी चुप लागेर बस्दैनौ , छुवाछुत गर्नेहरु विरुद्ध कानूनी कारवाहीमा जान्छौ ।
चैत ८ देखि शुरु हुने महायज्ञको तयारी जोडतोडका साथ चलिरहेको छ । महायज्ञस्थलको निर्माण र तयारीमा दलितहरु पनि खटेका छन् । तर महायज्ञको पूजामा मण्डप भित्र दलितलाई प्रवेश नदिने मूल आयोजक समितिको अडान छ । अलौंकै ५६ वर्षीय खुबलाल महरा चमारले भने,‘ गाँउका गैरदलितहरुले महायज्ञ तयारीको अरु सबै काम गर्नु तर चौका (पूजा) मा भने तिमिहरु बस्न पाउदैनौ भनेका छन् । ,‘सबै काम हामीले नै गर्ने अनि चौकामा भने बस्न नदिने ? हिन्दू धर्मकै यज्ञमा हामी हिन्दूलाई नै वञ्चित गर्नु कहाँको धर्म हो ? भन्दै महराले प्रश्न पनि गरे । महायज्ञ मुल पूजा समितिमा पनि दलितलाई समावेश नगरिएको र समितिले दलितहरुबाट चन्दा समेत समेत नलिएको अलौकै ६४ वर्षीय जोधा राम चमारले बताए । उनले भने ,‘ समितिमा गैरदलित समुदायका मात्रै व्याक्ति छन् , एक जना पनि दलित छैनन् , अनि महायज्ञमा हामीले पनि चन्दा दिन्छौ भन्दा हामी दलितबाट चन्दा लिन समेत इन्कार गरेका छन् ।
स्थानीय दलित विकास पथका अध्यक्ष शिवनारायण रामले भने,‘ हिन्दूमाथि हिन्दूले नै विभेद गरेपछि अब हामी न त मन्दिर जान सक्छौ, न त मस्जिद नै , हामी कुन धर्मको मान्छे हो भन्ने नै थाहा भएन ।धर्मको आडमा दलितमाथि छुवाछुतको विभेद गर्नेहरुलाई कानुनी दायरामा नल्याउँदा सम्म दलितहरुमाथि अपमान र अन्याय नरोकिने उनले बताए । महायज्ञमा प्रवेश गर्न नपाउने भएपछि आन्दोलित भएका अलौंका दलितहरुको माग र आन्दोलन प्रति हिन्दू परिषद् नेपालले पनि ऐक्यबद्धता जनाएको छ । मन्दिरमा र पूजामा बस्न पाउने सबैको अधिकार भएकाले यसबाट कसैलाई वञ्चित नगर्नका लागि हिन्दू परिषद् नेपाले पनि अलौंका दलितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य विनोद प्रसाद कुर्मीले बताए । उनले भने,‘ हिन्दुको महानग्रन्थ रामायणमा पनि छुवाछुत छैन, धर्ममा छुवाछुत र विभेद भन्ने कतैपनि छैन , तर धर्मकै आडमा विभेद गर्न खोज्नु भनेको धर्मलाई भाड्न खोज्नु हो’ ।
ब्राह्मणवादको यस्तै मानसिकता र रुढीवादी परम्पराकै कारण हिन्दू धर्म छोड्दै जाने र धर्म परिवर्तन गर्नेको संख्या बढ्दै गएको उनले बताए । अधिवक्ता समेत रहेका कुर्मीले भने ,‘ जुन जातको भएपनि मुस्लिम समुदायमा एकता भएजस्तै हिन्दूहरु पनि एक हुनुपर्छ ,जातपातका आधारमा विभेद दण्डनीय हो, त्यसैले त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्छ’, कुर्मीले भने । अलौंको संसारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद चौधरीले महायज्ञको पूजा स्थलमा दलित समुदायलाई प्रवेश गर्न नदिएको स्विकारे । पुस्तौ देखि चल्दै आएको संस्कार अनुसार मन्दिर र महायज्ञस्थलमा दलितलाई प्रवेश गर्न नदिने उनको अडान छन् । उनले भने, ‘पहिल्यैदेखि हामीले पूजामा दलितलाई सँगै बसाएका छैनौ, सँगै बसेर पूजा कहिल्यै पनि गरेका छैनौं र अब पनि गर्दैनौं , यदि यो अपराध हो भने बरु जेलमै भएपनि जाउँला, जहाँ भएपनि भात खाने हो, बरु जेलमै बसेर भात खाउँला ।’
महायज्ञका लागि अन्य ६ वटा टोलबाट चन्दा लिएपनि दलित समुदायबाट चन्दा नलिएको उनले पनि बताए । उनले भने,‘ अब यो महायज्ञ सकिएपछि छलफल गरेर आगामी पूजादेखि के गर्ने बारे छलफल गरौंला , तर अहिलेकै यज्ञको पूजामा दलितलाई संगै राखर पूजा गर्न सकिन्न । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले भने यो विषय आपसी छलफलका माध्यमले सुल्झाउनु पर्ने बताए । महायज्ञ मूल पूजा समितिको सदस्य समेत रहेका क्षेत्रीले भने, ‘महायज्ञको पूजा मूल समिति छ, त्यहाँ पदाधीकार छन्, छलफल जारी छ, सहमती हुन्छ होला ।’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले छिटै दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या सुल्झाइने बताए । कुनै पनि समुदायसंग छुवाछुत र जातीय विभेद गर्न पाइदैन , यसो गरेमा द०डनीय अपराध हुनेछ , पौडेलले भने,‘ यदि छलफलबाट पनि समस्या सुल्झिएन र पूजामा दलितलाई सहभागी हुन दिएनन् भने ती व्याक्तिहरु विरुद्ध प्रशासनले कारबाही गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once