Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

उपराष्ट्रपतिमा चारजनाको उमेदवारी, जसपाकै दुई उमेदवार

spot_img

वीरगंज । उपराष्ट्रपति पदमा चारजनाको उमेदवारी दर्ता भएको छ । जसमा आठदलीय गठबन्धनको तर्फबाट एकल उमेदवार नभएपछि तीनजनाको उमेदवारी परेको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)बाटै दुईजनाको उमेदवारी परेको छ । उमेदवारी खारेज हुनसक्ने अवस्था भएकाले दुई उमेदवार रहेका बताइएको छ ।
जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उमेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उमेदवारी दर्ता गरेकी छन् । राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले उमेदवारी दर्ताको समय आज बिहान ९ बजेदेखि २ बजेसम्म तोकेको थियो । एमाले उमेदवार शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।
उमेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले एमालेको उमेदवार सक्षम रहेको प्रतिक्रिया दिए । उमेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि आफूले उमेदवारी दर्ता गराएको बताइन् । उनले आफूलाई सबैको सहयोग हुने बताइन् । यस्तै, गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उमेदवारी दिएका यादवको प्रस्तावका अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।
जसपाबाटै उमेदवारी दिएकी प्रमिला कुमारीको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् । जनमत पार्टीबाट ममता झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उमेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once