वीरगंज, ६ फागुन । रिलिफ सोसाईटी अफ कमर्सले प्रदान गर्दै आएको ‘बिहारीलाल लाठ कर्मवीर सम्मानपत्र’ बाट यसपटक संगीतकार गणेश परियार सम्मानित भएका छन् । लामो समयदेखि संगीतको क्षेत्रमा परियारले दिएको योगदानको कदरस्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै महिला नेतृ एवम् पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन र भोजपुरी लोक गायक ढोडा मियाँ तेली (सलिम) लाई सम्मान गरिएको हो ।
रिलिफ सोसाईटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य, प्रतिनिधि सभा सदस्यद्वय अच्युत मैनाली र प्रभु हजराले सम्मान गरेका हुन् । सोही अवसरमा विभिन्न समुदायका १७ जना विपन्न महिलाहरुलाई आयआर्जन गरी आत्मनिर्भर बनाउने अभिप्रायले सिलाईकटाईको मेशिन पनि प्रदान गरिएको संस्थाका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले जानकारी दिए ।
स्वर्गीय बिहारी लाल लाठको ११औं पुण्य तिथिको अवसरमा समाजका उद्यमशील महिलाहरुलाई स्वरोजगारको लागि राधादेवी वृजलाल लाथ ट्रष्ट वीरगञ्ज नेपाल र श्री लोकनाथ टीवडेवालको सौजन्य र सहयोगद्वारा सिलाई मेशिन वितरण गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादवले स्वागत, बरिष्ठ उपाध्यक्ष नारायण रुङगटाले धन्यवाद र सञ्चालन महासचिब निरज अग्रवालले गरेका थिए ।





