बारा, १ फागुन । बारा जिल्लाको बरियारपुर स्थित प्रसिद्ध धार्मिक स्थल श्री गढीमाई मन्दिर नजिकै आयोजना हुन लागेको श्रीमद् भागवत सप्ताह एवं श्री गढीमाई धार्मिक महोत्सवको फागुन २ गते कलश यात्रा निकालिने भएको छ । श्री गढीमाई बहुमुखी क्याम्पसको आयोजनामा हुन लागेको श्री गढीमाई धार्मिक महोत्सवको फागुन २ गते कलश यात्रा निकालिने भएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।
महागढीमाई नगरपालिकाका वडा नं १ स्थित महागढीमाई मन्दिर नजिकै रहेको पानी ट्यांकी कार्यालय भित्र मेला मुल समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख यादवले महोत्सव शुरुको पूर्वसन्ध्यामा फागुन २ गते मंलबारको दिन कलश यात्रा निकालिने सार्वजनिक गरेका हुन् । फागुन २ गते बिहान ७ बजे महागढीमाई मन्दिरको प्राङ्गणबाट भटीपुल, साहुटोल, गणेश चौक, मैनी टोल हँुदै थलही नदीबाट कलशमा जल भर्ने योजना रहेको जानकारी दिए । थलही नदिबाट जल भरेर बरियारपुर चौक भन्सिया टोल, बरियारपुर बजार, गायत्री चौक, संसारी माई मंन्दिर हुँदै गढीमाई नजिक जग स्थलसम्म पुगी कलश यात्राको समापन हुने नगर प्रमुख यादवले जानकारी दिए ।
उनका अनुसार मेला आकर्षणका लागि विभिन्न किसिमका मुर्ति, प्रबचन, झुला लगायत विभिन्न मनोरञ्जनात्मक बस्तुहरु आउने नगरप्रमुख यादवले बताए । त्यस्तै श्री गढीमाई बहुमुखी क्याम्पसको लागि दुई बिगाहा जग्गा खरिद र क्याम्पस निर्माणका लागि श्रीमद् भागवत सप्ताह श्री गढीमाई धार्मिक महोत्सवबाट करिब ५ करोड भन्दा बढि चन्दा संकलन गर्ने लक्ष्य रहेको उनको भनाई छ । क्याम्पसको अभावमा बारा जिल्लाका बिद्यार्थीहरुले उच्च शिक्षाको लागि वीरगंज काठमाडौं, हेटौंडा, जनकपुर र भारतको विभिन्न ठाउँमा जाने बाध्य रहेको समस्यालाई मध्यनजर गर्दै श्रीमद् भगवत सप्ताह श्री गढीमाई धार्मिक महोत्सवको आयोजना गरिएको नगरप्रमुख यादवले बताए ।
क्याम्पसको लागि आयोजना हुन लागेको धार्मिक महोत्सव उद्घाटन गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव आउने कार्यक्रम तय भएको यादवको भनाई छ । पत्रकार सम्मेलनमा श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार, जितेन्द्र गुप्ता, कैलास मुखिया, महेश जयसवाल, बिरेन्द्र यादव, धबेन्द्र यादव लगायतको उपस्थित रहेको थियो ।
क्याम्पस निर्माणार्थ श्रीमद् भागवत एवं गढीमाई धार्मिक महोत्सवको आयोजना
![]()





