बीरगंज, २० माघ । भर्खरै पर्सा जिल्लामा सरुवा भई आउनु भएका राष्ट्रिय अनुसन्धान कार्यालय, पर्साका उपनिर्देशक हेमन्त चौधरीले पर्सा जिल्लामा आपराधिक गतिविधि र आर्थिक अनियमिततालाई नियन्त्रण गर्ने तर्फ हामी सक्रियतापूर्वक अघि बढ्ने बताउनु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै शान्ति सुव्यवस्था र सुशासनको प्रबद्र्धनमा स्थानीय सरोकारवाला कार्यालयहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने विषय हाम्रो प्राथमिक कार्य रहेको समेत बताउनु भयो । उहाँले वीरगंजको बढ्दो आर्थिक महत्व र यहाँ हुने अत्यधिक आर्थिक कारोबारलाई सुरक्षित तुल्याउने दिशामा सामूहिक सहकार्यको आवश्यकता औल्याउनु भयो ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको वीरगंज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु(व्यवस्थालाई अझप्रभावकारी बनाउनुपर्ने, वीरगंजमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, मधेश आन्दोलनमा फोडिएका सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा आफुहरु लागि परेको बताउनुभयो । अध्यक्ष गुप्ताले आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमाहुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि उपनिर्देशक चौधरी संग आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष अशोक बैद्य र प्रभात रुंगटाले पर्साको बिभिन्न क्षेत्र संग सम्बन्धीत बिषयहरुमा आ(आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष हरि गौतमले गर्नु भएको कार्यक्रममा संघका उपाध्यक्ष माधवराज पाल, सचिव आशिष लाठ, कार्यसमिति सदस्य सरेश रुंगटा लगायतको उपस्थिती रहेको थियो ।





