वीरगंज, १६ माघ । मालपोत कार्यालय पर्सामा विचौलिया बनेर सेवाग्राहीसँग पैसा असूल गरेको आरोपमा पर्सा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शूल्क लिने व्यक्तीहरुका बारेमा उजुरी परेकोको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मी बस्ने वर्ष ३० का दिपक कुमार पटेल, वडा नम्बर २९ अठराहा बस्ने वर्ष २१ का सन्तोष कुमार राउत, पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने वर्ष २३ का धर्मेन्द्र कुमार सहनी, बहुदरमाई नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २८ का हरिओम गुप्ता रहेका छन् ।
पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीका अनुसार पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २५ का सञ्जय चौहान, वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बस्ने वर्ष २२ का राज कुमार साह, वीरगञ्ज वडा नम्बर २५ बस्ने वर्ष २६ का सुशिल कुमार साह र वडा नम्बर २४ बस्ने वर्ष ४८ शुभनारायण महतो कोईरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिएको भन्ने बिषयमा पटक पटक जनगुनासो आएकोले आइतबार दिउँसो १ बजे यस जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा काम लिएर आएका सेवाग्राहीलाई दुःख दिने नियतले अनेकौ समस्य खडा गरिदिने र सेवा शुल्कको नाउँमा रकम असूल्ने गरेको फेला पारेकोले उनीहरुलाई पक्राउ गरेको डिएसपी बुढाथोकीले जानकरी दिए । प्रहरीले नियन्त्रणमा लिएका ८ जना विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।





