Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
22.1 C
Kathmandu

सत्ताविमुख भएपछि कांग्रेसमा कलह चर्किंदै

spot_img

प्रकाश धौलाकोटी/काठमाडौँ : आफ्नै नेतृत्वको गठबन्धन टिकाउन नसक्दा अप्रत्यासित रुपमा सत्ता विमुख भएको कांग्रेसमा आन्तरिक कलह चर्किएको छ । सभापति शेरबहादुर देउवा र उनीनिकट केही नेताको सत्ता स्वार्थका कारण संघ र सातै प्रदेशको नेतृत्व गुमेको भन्दै पार्टीभित्र चर्को आलोचना भइरहेको हो ।

५ दलीय गठबन्धन गरेरै निर्वाचनमा गएको कांग्रेस पहिलो दलसमेत बनेको थियो । तर, नेतृत्वको असक्षमताकै कारण प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरिरहेका छन् । छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा सभापति देउवाले शक्ति बाँडफाँटमा सामान्य लचकता नअपनाएकाले गठबन्धन भत्किएको उनीहरुको आरोप छ । कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले भने आफूहरूलाई निर्णय प्रक्रियामै सामेल नगराएको भन्दै सार्वजनिक असन्तुष्टि पोखेका छन् ।

कांग्रेसभित्र नेतृत्वको असक्षमताप्रति प्रश्न उठाउँदै नैतिकरुपमा राजीनामा दिनुपर्नेदेखि विशेष महाधिवेशन बोलाउनुपर्ने सम्मको माग उठेको छ । शेखर कोइराला समूहले सभापति देउवाकै सत्ता लिप्साका कारण यो परिस्थिति सिर्जना भएको आरोप लगाएको छ । बुधबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले प्रतिनिधिसभाको ठूलो दल बने पनि सभापति देउवा र उनका निकटस्थहरूको स्वार्थले पार्टी सत्ता विमुख बनेको निष्कर्ष निकालेको थियो । केन्द्रीय सदस्य गोविन्द पोखरेलले अलिकति पनि राजनीतिक नैतिकता भए सभापति देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताए ।

‘निर्वाचनअघि गठबन्धनमै जानुपर्छ, स्थिर सरकार, विकास र आर्थिक सम्वृद्धि ल्याउन सकिन्छ भनेर सभापतिले आश्वास्त पार्नुभयो । त्यसो नगरौं भनिरहेका कार्यकर्तालाई पनि उहाँले लालसलाम भन्नुपर्ने स्थिति भयो,’ पोखरेलले कान्तिपुरसँग भने, ‘उहाँले जे भन्नुभयो, कार्यकर्ताले त्यही मान्यौं । अहिले उहाँले बोलेको पूरा गर्न सक्नु भएन । उहाँको राजनीतिक कौशल देखिएन । यदि राजनीतिक नैतिकता बाँकी छ भने मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ ।’

पोखरेलले अप्रत्यासितरुपमा कांग्रेस सत्ताविमुख हुनुलाई नेतृत्वको लज्जास्पद स्थिति र असक्षमताको प्रमाणको रुपमा लिएका छन् । ‘यो परिस्थिति आउनुले नेतृत्वको राजनीतिक चातुर्यता नभएको पुष्टि हुन्छ । जसको हातमा सत्ताको तालाचाबी छ, उसले प्रतिपक्षीको चाल के छ भनेर सामान्य सूचना पनि नराख्नु लज्जास्पद स्थिति हो । राजनीतिक असक्षमताको पराकाष्ठा हो,’ पोखरेलले भने, ‘अर्को कुरा सबै कुरा म मात्रै हुँ । मलाई मात्रै हुनुपर्छ भनेर एकांकी सोच राख्नुको परिणाम पनि हो । आफ्नो गुट पनि होइन, सानो स्वार्थ समूहमा मात्रै छलफल र निर्णय गर्ने शैलीको उपज हो ।’

सभापति देउवाले निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्न आगामी पुस २२ मा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । तर, समीक्षा बैठकभन्दा साताअघि नै कोइराला समूहका नेताहरूले अहिलेको परिस्थितिको सम्पूर्ण जिम्मेवार देउवा नै भएको निष्कर्ष निकालिसकेका छन् । देउवा भने सबै अपसज आफैं मात्र लिन तयार छैनन् । त्यसो त २०७४ को निर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चिँदासमेत देउवाले जिम्मेवारी लिएका थिएनन् । कांग्रेसमा विधानतः नै निर्णय प्रक्रियामा सभापतिलाई धेरै अधिकार छन् । महामन्त्री थापाले सभापति केन्द्रीत विधानकै कारण पार्टीलाई विधिवत अघि बढाउन नसकेको बताउँदै आएका छन् । तर, पार्टी संस्थापन पक्षका नेताहरू भने सभापति मात्रै नभएर पदाधिकारी पनि त्यसको दोषी भएको दाबी गर्छन् ।

केन्द्रीय सदस्य नैनसिंह महरले नेतृत्वले अहिलेको परिस्थितिको जिम्मेवारी लिएर चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । ‘यो परिस्थिति किन भयो ? हाम्रो नेतृत्वले चित्तबुझ्दो जवाफ दिनुपर्छ । नेतृत्वमा रहेकाले पनि सभापति सबैभन्दा जिम्मेवार हुनुहुन्छ । तर, त्यति भनेर पदाधिकारी र सहयोगीहरू पञ्छिन मिल्दैन,’ महरले भने, ‘सभापतिबाट गल्ती हुँदा पदाधिकारी र उहाँका सहयोगीहरूबाट पनि हस्तक्षेपकारी भूमिका हुनुपर्थ्यो, त्यो किन भएन ? त्यसैले यो अवस्था हुनुमा विधानविपरीत निर्णायक भूमिकाको बनाइएको पदाधिकारीको समूह पनि दोषी छ ।’

माओवादी केन्द्रको धोकाधडीले अहिलेको परिस्थिति सिर्जना भएको भन्दै देउवाको प्रतिरक्षामा उत्रिएका छन् संस्थापन पक्षका नेताहरू । आगामी केन्द्रीय समिति बैठकमा कोइराला समूहले प्रश्न उठाउने र संस्थापन समूहले सभापति देउवाको प्रतिरक्षा गर्ने स्थिति हुने देखिन्छ । केन्द्रीय सदस्य एनपी साउदले पार्टीमा व्यक्तिभन्दा पद्धति जिम्मेवार हुने र त्यसमा अन्तरविरोध गर्ने कुरा युक्तिसंगत नहुने तर्क गर्छन् । ‘अहिले जे भयो, त्यो व्यक्तिले गर्दा भएको होइन । पार्टीको कुरा हो । पार्टी भन्नेबित्तिकै एउटा व्यक्ति मात्रै भन्ने बुझ्नु हुँदैन,’ साउदले भने, ‘त्यसमा एउटा पद्धति नै क्रियाशील हुन्छ । वास्तवमा अहिले माओवादीले धोका दिएको अवस्था हो । यस्तो अवस्थामा पार्टीभित्र अन्तरविरोध गर्नेभन्दा पनि एक ढिक्का बनाएर पार्टीलाई थप विस्तार गर्नेतर्फ केन्द्रीत हुनुपर्छ ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता लिप्सामा परेर धोका दिँदा कांग्रेस प्रतिपक्षी बेञ्चमा पुगेको बताए । ‘हामीले राष्ट्रिय राजनीतिमा माओवादीलाई जुन स्पेस दिएर ल्यायौं, उ त्यसमा अडिन सकेन । यसबाट हामीलाई र नेपाली जनतालाई ठूलो धोका भयो,’ उनले भने, ‘अहिलेको जुन सरकार बनेको छ, यो देखिँदा गठबन्धनमा बहुमत छ । तर, त्यहाँभित्रको अन्तरविरोध अनुमान गर्न सकिने अवस्था छैन ।’ उनले माओवादीको धोकेबाजीले मुलुक अस्थिरतातर्फ धकेलिएको टिप्पणी पनि गरे ।

आगामी बैठकमा निर्वाचनको नतिजा र समसामयिक राजनीतिका विविध विषयमा छलफल हुने नेताहरूको भनाइ छ । कांग्रेसले यो निर्वाचनमा विगतको तुलनामा ७ प्रतिशत लोकप्रिय मत गुमाएको छ भने गठबन्धनका अन्य दललाई ७४ सिट छोडेर ९१ सिटमा उम्मेदवारी दिँदा ५७ सिटमा मात्रै जित हात पारेको छ । डेढ वर्षअघि नेकपा विभाजनको बलमा पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सत्तामा पुगेको कांग्रेस निर्वाचनबाट प्रतिनिधिसभामा ८९ सिटसहित सबैभन्दा ठूलो दल त बनेको छ तर संघ र सातै प्रदेशमा प्रतिपक्षीको भूमिकामा खुम्चिएको छ । साभार : इकान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once