खाद्य सँस्थानले धान किन्ने कार्य शुरु नगर्दा पर्सेली किसानहरु मर्कामा

spot_img

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १५ मंसिर / पर्सामा किसानहरुले धान काटेर भित्र्याई सकेको अवस्थामा नेपाल सरकारको समर्थन मूल्यमा विक्री नहुँदा पर्साका किसानहरु मर्कामा परेका छन् । उब्जाएको धान समयमा विक्री नहुँदा र नेपाल सरकारले तोकेको समर्थन मूल्य समेत नपाउँदा पर्सेली किसानहरु मर्कामा परेका छन् । धान भित्र्याएर गहुँ रोप्ने बेला भइसकेको अवस्थामा खाद्य गुणस्तर तथा व्यापार कम्पनी लि. शाखा कार्यालय वीरगंजले हालसम्म धान किन्ने कार्य शुरु नगरेको कारण किसानहरु मर्कामा परेका हुन् ।
मल, खाद, वीउ जसो तसो जोहो गरेर धान उब्जाएका किसानहरु धान बेच्न नपाउँदा मर्कामा परेको किसानहरुको गुनासो छ । नेपाल कृषि प्रधान देश भनिएतापनि समयमा कहिले पनि मल, वीउ नपाएको अवस्थामा छिमेकी मुलुकबाट निर्भर भई धान उब्जाएपनि धान समयमा विक्री नहुँदा समर्थन मूल्य समेत नपाउँदा किसानहरु मर्कामा परेको पोखरीया नगरापलिका वडा नं. ९ निवासी किसान राधाकृष्ण महतोले गुनासो पोखे ।
गहुँ रोप्नका लागि पैसाको आवश्यक परेकोले किसानहरु विचौलियालाई कम मूल्यमा धान बेच्न बाध्य छन् । अहिले खाद्य सँस्थानले धान किन्ने कार्य शुरु नगर्दा किसानहरु विचौलियालाई प्रति क्वीन्टल २४ सयदेखि २६ सय रुपैयासम्म विक्री गरि रहेका छन् । किसानहरुलाई अहिले मल, खाद, वीउ किन्न पैसाको आवश्यकता छ, तर खाद्य सँस्थानले धान किन्ने कार्य शुरु नगरेको कारण विचौलियालाई कमै मूल्यमा भएपनि धान बेच्नु परि रहेको किसान महतोको भनाई छ ।
मंसिर महिना वित्न लाग्दा किसानहरु अहिले गहुँ रोप्नमा व्यस्त छन् । तर प्रत्येक वर्ष समयमा मल, खाद, वीउ नपाएको कारण छिमेकी मुलुक भारतबाट निर्भर हुनुपर्ने अवस्था छ । अहिलेपनि कृषि सामाग्री कम्पनीसँग डि.ए.पी. मल छैन, न्यून्तम मात्रामा भएपनि स्थानीय तहको सिफारिसमा कृषि सहकारी सँस्थाहरुलाई मल वितरण गर्नुपर्ने अवस्था छ । कृषि सहकारी सँस्थाहरुले मल लैजादा आफ्नो आसेपासेलाई मात्रै वितरण गर्ने बाँकी कालोबजारी गरि बेच्ने गरेको कारण यथार्थ किसानहरु वर्षेनी मलको अभाव खेप्दै आउनुपर्ने अवस्था रहेको किसान मोहनलाल महतोको भनाई छ ।
उनका अनुसार समयमा मल खाद नपाएको कारण धान उब्जनीमा पनि कमि भएको छ । प्रत्येक वर्ष प्रतिकठ्ठा २ क्वीन्टल धान उत्पादन हुनुपर्नेमा यस वर्ष प्रतिकठ्ठा १ देखि डेढ क्वीन्टल धान मात्रै उत्पादन भएको छ । त्यसमा पनि धान बेच्ने बेलामा सरकारले तोकेको समर्थन मूल्य नपाउँदा किसानहरु मर्कामा परेको बताए । सरकारले धान किन्ने कार्य शुरु समेत गरेको छैन, पैसाको आवश्यकताले गर्दा गाउँमै व्यापारीहरुलाई धान बेच्नु परेको छ, जसले गर्दा लगानी पनि निकाल्न धौ धौ परेको उनको भनाई छ ।
अहिले खेत जोत्नको लागि ट्याक्टरको शुल्क पनि बढाएको छ, तेल पनि महंगिएको छ, तर धानको मूल्य जस्ताको त्यस्तै छ भन्दै उनले कृषि प्रधान देश भनिने नेपालका किसानहरु वर्षेनी मर्कामा पर्ने गरेको छ । किसानहरुको समस्याप्रति कसैलाई चिन्ता छैन, नेताहरु आफ्नो कुर्सीको लडाईमा व्यस्त छन् भने सरकार आफ्नो सत्ता बनाउनमा व्यस्त छ । किसानको समस्या सुन्ने यो मुलुकमा कोही पनि नभएको उनीहरुको गुनासो छ ।
यता खाद्य गुणस्तर तथा व्यापार कम्पनी लि. शाखा कार्यालय वीरगंजका सूचना अधिकारी समिर दहालले यो महिनाको अन्तिमसम्म धान किन्ने कार्य शुरु हुनुपर्ने बताए । उनले मन्त्रालयबाट धान किन्नका लागि आधिकारिक पत्र नआएको कारण धान किन्ने कार्य शुरु नगरिएको बताए । चुनावले गर्दा पनि धान किन्ने कार्य शुरु नभएको भन्दै सकेसम्म यो महिनाको अन्तिमसम्म धान किन्नको लागि पत्र आइसक्नुपर्ने उनको भनाई छ ।
उनका अनुसार नेपाल सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्वीन्टल ३१ सय ६५ रुपैया तोकिएकोमा किसानहरुले विचौलियालाई कम मूल्यमा धान विक्री गर्न बाध्य रहेको आफूहरुलाई अवगत रहेको बतए । तर सरकारको प्रावधान अनुसार नै धान किन्ने कार्य शुरु हुने उनको भनाई छ । सोना मन्सुली धानको लागि सरकारले समर्थन मूल्य तोकिसकेको र कतर्नी धानको लागि जिल्ला स्तरीय प्राथमिक समितिबाट निर्णय गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once