Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंजमा बैंक ह्याकरहरुको विगविगी : एकदेखि अर्को बैंकबाट धमाधम पैसा चोरी गर्दै

spot_img

वीरगंज (पर्सा), ३० भदौ / एक हप्ता अघि वीरगंजको सेन्चुरी बैंकको खाताबाट बैंक ह्याकरले पैसा चोरेको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना सार्वजनिक भएको छ । साधारण व्यक्तिहरुको बैंक खाताबाट पैसा चोरी हुनु र थोरै मात्रामा पैसा चोरी हुनुले त्यसतर्फ सम्बन्धित निकायले वेवास्ता गर्दै आएकोमा हाल जिल्ला अदालत पर्साका कर्मचारीको ठुलो रकब बैंकबाट चोरी भएको घटना बाहिरिएको छ । जिल्ला अदालत पर्सामा कार्यरत एक जना कर्मचारीको बैंक एकाउन्टबाट ठूलो रकम चोरी भएको छ ।
जिल्ला अदालत पर्साको तहसिल शाखामा कार्यरत कर्मचारी ऋषिराम सापकोटाको बैंक खाताबाट साढे आठ लाख रुपैया चोरी भएको छ । बैंक ह्याकरहरुले समूहले सापकोटाको एनआईसी एसिया बैंक बीरगन्जमा रहेको खाता ह्याक गरि सो रकम चोरी गरेको सापकोटाले बताए । बैंक एकाउन्टबाट धमाधम पैसा झिकिएको मोवाईलमा सूचना आएपछि सोधपुछ गर्न बैंक पुग्दा सम्म आफ्नो एकाउन्टबाट ८ लाख ५० हजार रुपैया बिभिन्न एकाउन्टमा ट्रान्सफर भइसकेको सापकोटाले बताए । ह्याकरहरुको समुहले बैंकमा सापकोटाले गराएको एफडी बराबरको रकम छाडी बाँकी सबै रकम बिभिन्न एकाउन्टमा ट्रान्सफर गरेका छन् ।
घटनाको छानविन गर्न तथा दोषीलाई पक्राउ गरि रकम असुल उपर गर्न भन्दै सापकोटाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । तर हालसम्म प्रहरीले ह्याकरहरुको समूहलाई पक्राउ गर्न सकेको छैन् । ह्याकरहरुको समुहले बजारमा बिभिन्न समान किन्दै पसलधनीको खाता एवं मनी चेन्जरहरुका संचालकहरुको खातामा रकम पठाएर पैसा सटही गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम शाखाका प्रहरी निरिक्षक प्रज्जवल थपलियले बताए । प्रहरी निरीक्षक थपलियाका अनुसार मोवाईल बैङ्किक मार्फत पैसा चोरी भएकोले घटना अलि पेचिलो छ ।
यता घटनाबारे एन.आई.सि. एसिया बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्गी आफू अनभिज्ञ रहेको बताए । खड्गीले ओपीटी नम्बर र टिपी नम्बर अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने भन्दै बैंकको सेक्युरिटी सिस्टम धेरै मजबुत रहेको दावी गरे । उनले घटनाले व्याख्या गरे अनुसार चोरी हुन नसक्ने बताए । यता सेवा दिए वापत पैसा आफ्नो बैंक खातमा ट्रान्सफर गराएकाहरु पैसा फर्काउन आनाकानी गरि रहेका छन् । प्रहरीले केहि व्यक्तिहरुलाई जिल्लामा झिकाएर तपाईको खातामा रकम गएको भन्दै फिर्ता गरिदिन दवाव दिइरहेको छ । ८ लाख ५० हजार रकम खाताधनीले नै बिभिन्न ५ जना व्यक्तिको नाममा ट्रान्सफर गरेको बैंक खाताको स्टेटमेन्टले देखाएको छ । तर सापकोटाले आफुले सो रकम नपठाएको बताउँदै आफ्नो मोवाइलको सबै डाटाहरुको ह्याक भएको हुन सक्ने बताए ।
गत भदौ २३ गते पनि वीरगंजको आदर्शनगर स्थित सेन्चुरी बैंकको खाताबाट पैसा चोरी भएको थियो । ह्याकरहरुले सेन्चुरी बैंकको खाता ह्याक गरि खाताबाट पैसा अनलाइन ट्रान्जेसक्न गरेका थिए । सेन्चुरी बैंकको खाताबाट ह्याकरले बुधबार दिउँसो १२ः१७ बजेको समयमा रु ३३ हजार रुपैया ह्याक गरेर चोरेका थिए । वीरगंज महानगरपालिका वडा नं. ३० निवासी हरेराम प्रसाद गुप्ताको उक्त बैंकमा रहेको खाताबाट ह्याकरले ३३ हजार रुपैया गल्तीमा अनलाइन ट्रान्जेक्सन गरि पुनः सानिमा बैंकमा रकम पठाई निकाल्न लगाएको पाइएको हो । ह्याकरले गुप्ताको खाताबाट विकास थिङको नाममा रहेको ९८२१३६६२७३ नम्बरको खल्तीमा बुधबार दिउँसो १२ः१७ को समयमा अनलाइन ट्रान्जेक्सन गरेको बैंकबाट प्राप्त तथ्याँकले देखाएको छ ।
त्यस पश्चात वीरगंज स्थित सानिमा बैंक लिमिटेडमा अमित गौरोको नाममा रहेको ०२१०११०१००००८८६ खातामा त्यही रकम ट्रान्सफर गरि सानिमा बैंकबाट पैसा निकालेको पाइएको छ । ह्याकर रविन विष्ट भन्ने व्यक्तिले खाताधनी गुप्ताको खाता ह्याक गरि विकास थिङको खल्तीको खातामा रकम अनलाइन ट्रान्जेक्सन गरेका छन् भने विकास थिङले पर्सा जिल्ला बेलवा निवासी अमित गौरोको सानिमा बैंकको खातामा रकम अनलाइन ट्रान्जेसक्न गरेको पाइएको हो । त्यस पश्चात अमित गौरोले पैसा ३२ हजार ९ सय रुपैया आफ्नो खाताबाट दिउँसोको १२ः१६ बजे झिकेको पाइएको हो ।
समग्रमा भन्नुपर्दा यि तिनैजनाको सञ्जाल देखिएको छ । एक मिनेट समयको अन्तरालमा यिनीहरुले ३३ हजार रुपैया ह्याक गरि निकाल्न सफल भएको बैंकबाट प्राप्त तथ्याँकले नै देखाएको छ । खाताधारीले ति चोरेको पैसा झिक्ने अमित गौरोको मोबाइल नम्बर पता लगाई कुराकानी पनि गरेका थिए तर पैसाबारे कुराकानी गर्दागर्दै गौरो सम्पर्क विहीन भएका थिए । त्यस पश्चात गुप्ताले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका थिए तर हालसम्म उनीहरु पक्राउ पर्न सकेका छैनन् । केही दिनदेखि वीरगंजमा बैंक ह्याकरहरुको सञ्जाल सक्रिय भएको देखिएको छ । विभिन्न बैंकको खाता ह्याक गरि पैसा चोर्नेहरुको विगविगी पनि वीरगंजमा बढेको छ । सर्वसाधारणहरुको पैसाबाटै पैसा कमाउने बैंकले खाताधारीको पैसा सुरक्षित गर्न नसकेको अवस्थामा बैंकबाट सर्वसाधारणहरुको विश्वास समेत गुम्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once