वीरगन्ज (पर्सा), २६ भदौ । जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिका उपाध्यक्ष शेख रुषत्म नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । वीरगंज महानगरपालिकाको वडा नं. १३ मा शनिबार भएको पार्टी प्रबेश कार्यक्रम उपाध्यक्ष रुषत्मसहित एक सय जना भन्दा बढीले कांग्रेस प्रबेश गरेका हुन् ।
रुषत्मको नेतृत्वमा दाउत अन्सारी, लखन अन्सारी, जहुर हवारी, फिरोज हवारी, अरमान शेख, नेयाज अन्सारी, नरुत्लाह हवारी, मिठु हवारी, साविर हवारी, मुना शेख, फिरोज अन्सारी, वडा नं. १३ की निर्वाचित महिला वडा सदस्य विगन देवी लगायतकाले कांग्रेस प्रबेश गरेको वीरगंज १३ का बुथ सभापति कविर अन्सारीले जानकारी दिए ।
नव प्रबेशी सबै जनालाई नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुंगाटा, जिल्ला उप सभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्रिय सभापति अरविन्द गुप्ता, नेता प्रकाश उपाध्याय, राजु गुप्ता, नेतृ निलिमा खातनु लगायतकाले फुल माला र अविरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति क्षेत्रीले मधेशी दलले जनतालाई ठगेको आरोप लगाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति क्षेत्रीले मधेशी दलहरु सरकारमा गएपनि मधेश आन्दोलनमा सहिद भएहरुलाई भुलेको वताए । उनले मधेश आन्दोलनमा सहिद भएकाहरुलाई आफुहरु सरकारमा गए ५० लाख दिने मधेशी दलहरु वताए पनि सरकारमा गएपछि भैंसी बाडेर सहिदको अपमान गरेको वताए ।





