वीरगन्ज / नेपालका हात्ती भारतमा तस्करी हुने गरेको पाइएको छ । तस्करहरुले नेपालका घरपालुवा हात्ती तस्करी गरेर भारतका विभिन्न राज्यमा पु¥याएर बिक्री गर्दै आएको खुलेको हो । नेपालबाट तस्करी गरेर भारत लैजादै गरेका दुई वटा घरपालुवा हात्ती, भारतसँग सीमा जोडिएको पर्साको गाउँबाट शनिवार प्रहरीले बरामद गरेको छ ।
पर्साको पकाहा मैनपुर गाउँपालिका– ५ पोखरीया टोलबाट प्रहरीले भारतमा तस्करी गर्न राखिएको अवस्थामा दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ गरेको हो । हात्तीसँगै पक्राउ पर्नेहरुमा माउतेद्वय चितवनको भरतपुर महानगरपालिका १८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, त्यही ठाउँका ४० वर्षीय राजु कुमाल रहेका छन् । हात्ती तस्करीको कारोबार गर्ने पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाका ३५ वर्षीय सफरोज आलमलाइ पनि पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
डीएसपी खनालकाअनुसार, चितवनको सौराहा क्षेत्रबाट घरपालुवा हात्तीहरू, तस्करहरुले भारतको पन्जाब र यूपी प्रदेशमा लगेर बिक्री वितरण गर्दै आएको सूचना प्रहरीलाई एक वर्ष पहिले नै प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा प्रहरीले पर्साको सीमावर्ती क्षेत्रमा निगरानी पनि गर्दै आइरहेको थियो । त्यही क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटीएको प्रहरी टोली, शनिवार दिउसो पकहामैनपुर गाउँपालिका ५ पोखरीया टोलमा पुगेको थियो। त्यहाँ पुग्दा, तस्करहरुले दुई वटा हात्ती सीमापार लैजादै गरेको अवस्थामा पक्राउ गरिएको डीएसपी खनालले बताए ।
खनालकाअनुसार, तस्करहरुले नेपालबाट भारतमा लगेर एउटा हात्ती उमेरअनुसार एक देखि तीन करोड रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए । शनिवार नियन्त्रणमा लिइएको दुवै हात्तीसहित तस्कर र माउतेहरुलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको छ ।





