वीरगन्ज / वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घको एक शिष्ट मण्डलले ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्य समिति सदस्यहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।
वीरगञ्ज उवासङ्घका अध्यक्ष डा. गुप्ताले वीरगञ्जको महत्व, यसले बोकेको आर्थिक, सांस्कृतिक, पर्यटकीय सम्भावनालाई उजागर गर्नुभयो । उहाँले तराई–काठमाण्डौं द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माणको लागि संयुक्त पहल गर्न आग्रह गर्नुभयो । यताका दिनहरुमा नयाँ नयाँ सरकारी नीति नियमका कारण व्यापार व्यवसायहरु धरासायी हुँदै गइरहेकोले यस्ता नीति नियमहरु सच्याउनको लागि दबाब सिर्जना गर्न हामी निजीक्षेत्रले साझा एजेण्डाको रुपमा अगाडि सार्नु पर्नेमा जोड दिनुभयो ।
ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोज बहादुर न्याछौंले ललितपुरको सांस्कृतिक र ऐतिहासिक महत्व बताउँदै पर्यटकीय दृष्टिकोणले निकै महत्वपूणर् रहेकोले यस क्षेत्रमा आन्तरिक पर्यटक तथा सीमावर्ती क्षेत्रका पर्यटकहरुलाई यसका बारे जानकारीका साथै यस क्षेत्रको पर्यटन व्यवसायको प्रबद्र्धनको लागि सहकार्य गर्न आग्रह गर्नुभयो । त्यस्तै व्यापार व्यवसायका मुद्दाहरुमा नेपालभरिका चेम्बरहरु एक भएर सामूहिक प्रयास र पहल गर्दै व्यापार व्यवसाय विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र ललितपुर उद्योग वाणिज्य सङ्घ बीच द्विपक्षीय व्यापार, विस्तार, आपसी समन्वय र सहकार्यका लागि २०७२ सालमा भगिनी सम्बन्ध कायम गरिएकोलाई स्मृति पत्रमा हस्ताक्षर गरी पुनः नवीकरण गरियो । उक्त स्मृति पत्रमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष डा. सुबोधकुमार गुप्ता र ललितपुर उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष न्याछौंले हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो । भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष, कार्य समिति सदस्य सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान लगायतको उपस्थिति रहेको थियो ।
बीउवासंघ र ललितपुर उवासंघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुसँग भेटघाट
![]()





