संयुक्त राष्ट्रसङ्घ, २९ फागुन (रासस/सिन्ह्वा) : संयुक्त राष्ट्रसङ्घले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही दिनमा डार्फोरमा जारी रहेका हिंसाको तत्कालै अन्त्य हुनुपर्ने पनि बताएको छ । केही समयदेखि यहाँ जारी रहेको हिंसाले धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्रसङ्घले जोड दिएको हो ।
सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले शनिबार सो आग्रह गरेको हो । सो मिसनले विज्ञप्ति प्रकाशन गरेर यहाँका सबै पार्टीलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । यसअघि गत हप्तामात्र पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले पनि अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसङ्घको मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको बताउनुभएको थियो ।
महासचिव गुटर्रेसले भन्नुभएको थियो, सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ । यहाँ नागरिक प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमनकार्य तत्कालै बन्द गर्न संयुक्त राष्ट्रसङ्घले आग्रह गरी आएको छ ।
सुडानमा राजनीतिक सङ्कट गहिरिँदै जाँदा आन्दोलन चर्किएको छ । जसका कारण यहाँ प्रतिदिन हिंसा भएका समाचार आइरहेका छन् ।





