वीरगंज,२६ भदौ । पर्साको वीरगंजमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले नियमित चेकजाँचका क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला, पलनवा थाना–१० निवासी करिब ५५ वर्षीय अशोक कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा नियमित चेकजाँच भइरहेको थियो। सोही क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर जाँच गरेको थियो।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले मोटरसाइकलको डिक्की जाँच गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा भारतीय रुपैयाँ फेला पारेको जनाएको छ। प्रहरीले रकमको स्रोतबारे सोधपुछ गर्दा तत्काल स्पष्ट स्रोत नखुलेपछि अशोक कुमारलाई रकमसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरको १ थान र १०० दरका ४३ थान भारतीय नोट रहेका छन्। यी सबै नोटको कुल मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। रकमसँगै प्रहरीले प्रयोग भएको मोटरसाइकल र अशोक कुमारलाई समेत नियन्त्रणमा लिएको छ। बरामद भारतीय रुपैयाँको स्रोत, रकम बोकेर वीरगन्ज आउनुको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।





