काठमाडौँ,१७ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्को समयमा सरकार थकित भयो भन्दै विश्राम लिने अवस्थामा नरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सङ्कटको यस घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताउनुभयो । सरकार यही दृढ सङ्कल्पका साथ अहोरात्र उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिरहेको उहाँको भनाइ छ । प्रधानमन्त्री शाहले विपत्तिसँग जुध्नुको सरकारसँग अर्को विकल्प नरहेको स्पष्ट पार्दै भन्नुभयो, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ ।”
उहाँले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै ठूलो जनधनको क्षति पुर्याएको स्मरण गर्नुभयो । बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले अझै आफ्ना आफन्त सम्पर्कविहीन रहेका परिवारको पीडा आफूले गहिरोसँग महसुस गरेको बताउनुभयो ।
“यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ,” प्रधानमन्त्री शाहले भन्नुभयो ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा आवश्यक सहयोगका लागि सरकारले गरिरहेका कामबारे प्रतिनिधिसभालाई विस्तृत जानकारी गराउनुभयो । उहाँले विपद्को यस कठिन घडीमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।





