बारा,१६ भदौ । बाराको विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राजेश हराएको सूचना गत भदौ ९ गते साँझ करिब ७ः५० बजे प्रहरी चौकी मुसहर्वामा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरीले बालकको खोजतलास सुरु गरेको थियो। प्रहरीले बालकको खोजी गर्ने क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा राजेशलाई मृत अवस्थामा फेला पारेको थियो।
घटनापछि प्रहरीले बालकको अपहरण तथा हत्यासम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीबाट प्राप्त जानकारी तथा भारतीय प्रहरीसँगको समन्वयबाट घटनामा संलग्न व्यक्तिको पहिचान भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार विश्रामपुर गाउँपालिका–३, मुसहर्वाकै १७ वर्षीय एक किशोरले बालक राजेशलाई विश्रामपुरबाट अपहरण गरी भारततर्फ लगेको र त्यहाँ हत्या गरेको अनुसन्धानबाट खुलेको हो।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका किशोरलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।





