उदयपुर,१५ भदौ । कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन वन क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले १ हजार १२२ दशमलव ६७ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार शान्तिवन वन क्षेत्रमा जङ्गलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले ५२ बोरा गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजाको तौल १ हजार १२२ दशमलव ६७ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।
गाँजासहित प्रहरीले ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । उनीहरूमाथि गाँजाको स्रोत, ओसारपसार तथा कारोबारलगायत विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको आशंका गरिएको बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गाँजा, पक्राउ परेका व्यक्तिहरू तथा नियन्त्रणमा लिइएको सवारीसाधनका सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।





