धादिङ,१३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरेर पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते आएको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । सेफ फेला परेपछि स्थानीय व्यक्तिहरूले त्यसलाई तोडफोड गरी भित्र रहेको यकिन नभएको नगद रकम आफूखुसी निकालेर लगेको भन्ने सूचना प्रहरीले भदौ १२ गते प्राप्त गरेको थियो ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली परिचालन गरी घटनाबारे अनुसन्धान सुरु गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको जनाएको छ । बरामद रकम सेफमा रहेको भनिएको नगदसँग सम्बन्धित भए–नभएको तथा रकमको वास्तविक स्रोतबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४ मासटार तथा आदमघाट क्षेत्रका रहेका छन् । घटनामा चितवन र पर्सा घर भएका केही व्यक्तिसमेत नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार पक्राउ पर्नेमा पर्साको बहुदरीमाई नगरपालिका–९ घर भई हाल धादिङको गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी र चितवनको राप्ती नगरपालिका–६ घर भई हाल धादिङको गजुरी गाउँपालिका–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर रहेका छन् ।
प्रहरीले घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूको पहिचान तथा खोजीसमेत गरिरहेको जनाएको छ । साथै, बरामद भएको नगद रकमको स्रोत, सेफमा वास्तविक रूपमा कति रकम थियो भन्ने विषय तथा घटनाको सम्पूर्ण विवरण खुलाउने गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा बरामद रकममाथि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।





