काठमाडौं,०९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेसँगै मुख्यमन्त्री थापाले बहुमत हासिल गरेका हुन् ।
विश्वासको मतका लागि भएको मतदानमा ५८ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए । तीमध्ये ५७ जनाले मुख्यमन्त्री थापाले राखेको प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा एक मत परेको छ । बागमती प्रदेशसभामा कुल १०४ जना सदस्य छन् । संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान भइरहँदा नेपाली कांग्रेसले भने प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । कांग्रेसको बहिष्कारका बीच भएको मतदानमा मुख्यमन्त्री थापाको पक्षमा ५७ मत परेको हो । नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा बागमती प्रदेशमा किरण थापा मगरको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । राप्रपाभित्र आन्तरिक विवाद चलिरहेका बेला नयाँ सरकार गठन भएको थियो ।
सरकार गठनका क्रममा राप्रपाले आफ्नै संसदीय दलका नेता थापासहित चार जना प्रदेशसभा सदस्यलाई कारबाहीसमेत गरेको थियो । पार्टीभित्रको विवाद र राजनीतिक उतारचढावका बीच थापा नेतृत्वमा सरकार गठन भएपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मंगलबार मतदान भएको हो ।
प्रदेशसभामा भएको मतदानबाट आवश्यक बहुमत प्राप्त गरेसँगै मुख्यमन्त्री थापा मगरको नेतृत्वमा रहेको सरकारलाई प्रदेशसभाको समर्थन औपचारिक रूपमा प्राप्त भएको छ । विश्वासको मत पाएसँगै सरकारले प्रदेश सरकारका आगामी काम तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुलेको छ ।





