वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सरकारी पहल, कार्यदलले थाल्यो स्थलगत अध्ययन

spot_img

वीरगंज,०९ भदौ । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले स्थलगत निरीक्षण सुरु गरेको छ । मंगलबार वीरगंज आइपुगेको तीन सदस्यीय कार्यदलले कारखाना परिसरमा पुगेर कारखानाको वर्तमान अवस्था, संरचना तथा मेसिनरीको स्थलगत अनुगमन र निरीक्षण थालेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते वीरगंज चिनी कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता तथा आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो । मन्त्रालयका सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलमा शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेका छन् । कार्यदलका संयोजक यादवका अनुसार टोलीले वीरगंजमा दुईदेखि तीन दिन बसेर कारखानाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नेछ । स्थलगत अध्ययन सम्पन्न गरेपछि टोली काठमाडौं फर्किनेछ र अध्ययनबाट प्राप्त तथ्य तथा विवरणका आधारमा प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाउनेछ ।

सरकारले कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ । सोहीअनुसार कार्यदलले कारखानाको वर्तमान अवस्थासँगै विगतमा भएका सरकारी निर्णय, यसअघि तयार भएका विभिन्न अध्ययन तथा प्रतिवेदनको समेत समीक्षा गर्नेछ । त्यसका आधारमा कारखाना पुनः सञ्चालनका लागि तत्काल चाल्नुपर्ने कदम र आवश्यक कार्ययोजनाबारे सरकारलाई सुझाव दिनेछ । स्थलगत अध्ययनका क्रममा कारखाना परिसरमा रहेका भवन, विभिन्न संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्थासमेत विस्तृत रूपमा मूल्यांकन गरिनेछ । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका पुराना संरचना तथा मेसिनरीलाई मर्मत तथा पुनः प्रयोग गरेर कारखाना सञ्चालन गर्न सकिने अवस्था छ वा नयाँ प्रविधि र पूर्वाधार आवश्यक पर्छ भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्नेछ ।

त्यसैगरी, कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाको विश्लेषण गरी लामो समयदेखि देखिँदै आएका समस्या पहिचान गरिनेछ । कारखानाको स्वामित्वमा रहेको जग्गा तथा अन्य सम्पत्तिको अवस्थाबारे पनि अध्ययन हुनेछ । अध्ययनका क्रममा देखिएका समस्या समाधान गर्न आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत कार्यदलले सरकारसमक्ष सिफारिस गर्ने जिम्मेवारी पाएको छ । उद्योग मन्त्री गौरीकुमारी यादवको पहलमा वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको हो । लामो समयदेखि बन्द अवस्थामा रहेको महत्वपूर्ण औद्योगिक प्रतिष्ठान पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि सरकारले औपचारिक प्रक्रिया अघि बढाएपछि वीरगंजमा पनि यस विषयप्रति चासो बढेको छ ।

सोभियत संघसँगको सम्झौतापछि स्थापना

वीरगंज चिनी कारखाना तत्कालीन राजा महेन्द्रले सन् १९५९ मा सोभियत संघ (रुस) भ्रमणका क्रममा नेपालमा ठूलो चिनी कारखाना स्थापना गर्ने सम्झौता भएपछि स्थापना भएको थियो । कारखानाले २०२१ साल माघ १८ गतेदेखि औपचारिक रूपमा चिनी उत्पादन सुरु गरेको थियो । कुनै समय मुलुकको महत्वपूर्ण औद्योगिक प्रतिष्ठानका रूपमा रहेको कारखाना पछिल्लो समय निरन्तर घाटामा गएपछि बन्द गर्ने निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को २०५९ फागुन १५ गते बसेको बैठकले वीरगंज चिनी कारखाना बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसयता लामो समयदेखि बन्द रहेको कारखानाको भवन, मेसिनरी, जग्गा तथा अन्य सम्पत्ति प्रयोगविहीन अवस्थामा छन् । अहिले सरकारले पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरी स्थलगत निरीक्षणसमेत अघि बढाएपछि बन्द कारखाना पुनः सञ्चालनमा आउन सक्ने सम्भावनाबारे स्थानीय स्तरमा समेत चासो बढेको छ । कार्यदलको अध्ययन प्रतिवेदनपछि कारखानाको वास्तविक अवस्था, पुनः सञ्चालनका लागि आवश्यक लगानी, प्राविधिक तथा कानुनी चुनौती र अपनाउनुपर्ने व्यवस्थापकीय विकल्पबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once