काठमाडौं,०२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी महामन्त्री विपिन आचार्यले मंगलबार सूचना जारी गर्दै शुक्रबार केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन्।
महामन्त्री आचार्यका अनुसार पार्टी सभापतिको निर्देशनमा बैठक बोलाइएको हो। बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ। केन्द्रीय समितिका सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थितिका लागि सूचित गरिएको महामन्त्री आचार्यले जारी गरेको सूचनामा उल्लेख छ। यद्यपि, बैठकमा छलफल हुने विषय तथा कार्यसूची भने अहिलेसम्म तय भइसकेको छैन। पार्टीले बैठकको कार्यसूची तयार गर्ने गृहकार्य गरिरहेको जनाएको छ।
महामन्त्री आचार्यद्वारा जारी सूचनामा भनिएको छ, ‘बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेकाले तयार भएलगत्तै सूचित गरिनेछ।’ कार्यसूची तय भएपछि बैठकमा उठाइने विषयबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराइने र त्यसैअनुसार छलफल अघि बढाइने पार्टीले जनाएको छ।
शुक्रबार बस्ने बैठकलाई रास्वपाको पछिल्लो राजनीतिक तथा सांगठनिक गतिविधिबारे छलफल गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ। यद्यपि, बैठकको औपचारिक एजेन्डा सार्वजनिक हुन बाँकी रहेकाले कुन–कुन विषयमा निर्णय वा छलफल हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।





